काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ।
एनआईसी एशिया क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले माघ ४ देखि माघ ८ गतेसम्म मेरो सेयरमार्फत सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।
आईपीओ निष्कासन अवधिमा कुल ८१ हजार ७९७ जना आवेदकबाट १२ लाख ९३ हजार ४० कित्ता सेयरका लागि आवेदन प्राप्त भएको थियो। तीमध्ये सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न कारणले ६ हजार ६८९ जना आवेदकबाट प्राप्त १ लाख ४७ हजार २८० कित्ता सेयरका आवेदन रद्द गरेपछि बाँकी ७५ हजार १०८ जना आवेदकबाट ११ लाख ४५ हजार ७६० कित्ता सेयरका लागि अन्तिम आवेदन कायम भएको थियो।
आवेदन प्रशोधनका क्रममा ९ जना आवेदकले दोहोरो हितग्राही खाता प्रयोग गरी १८ वटा आवेदनमार्फत १९० कित्ता सेयरका लागि आवेदन गरेको पाइएकाले ती आवेदन रद्द गरिएको छ। त्यसपछि बाँकी ७५ हजार ९० जना आवेदकहरूबाट गोलाप्रथामार्फत ४० हजारजना आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले जम्मा ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको छ।








प्रतिक्रिया दिनुहोस्