काठमाडौं । भर्खरै सर्वसाधारणको लागि आईपीओ जारी गरेको साल्पा विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यसको खुद नाफा नोक्सानीमा रहेको छ ।
चालु आवको पुसमा सन्तसम्म यो बैंक १ करोड ४ लाख १ हजार २०३ रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा पनि बैंक १३ लाख ९२ हजार ९७७ रुपैयाँ ऋणात्मक रहेको थियो । बैंकको खुद नोक्सानी गत आर्थिक वर्षकोभन्दा बढेको छ ।
बैंक खुद ब्याज आम्दानी घटेको कारण नोक्सानीमा गएको हो । यस बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत घटेको छ । चालु आवको ६ महिनासम्म बैंकको यस्तो आम्दानी २ करोड ८१ लाख ५० हजार ४८४ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा यस बैंकको यस्तो आम्दानी ३ करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
यस बैंकको प्रतिसेयर आम्दानी पनि ऋणात्मक रहेको छ । यस बैंकको यस्तो आम्दानी १ रुपैयाँ ९९ पैसा ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३१ पैसा रहेको छ ।
चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा यस बैंकको खराब कर्जा (एनपीएल) ४.९३ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा गत वर्षको तुलनामा भने केही घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म यस बैंकको यस्तो कर्जा ५.५१ प्रतिशत रहेको थियो ।
हाल यस बैंकको चुक्ता पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड २७ लाख ९७ हजार रुपैयाँ रहेको छ। यस बैंकले १ अर्ब ५३ करोड १९ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब १४ करोड २९ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।








प्रतिक्रिया दिनुहोस्