काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा सिटी स्क्यान मेसिन खरिद प्रकरणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपकुलपति प्रा। डा। संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार प्रतिष्ठानका लागि खरिद गरिएको सिटी स्क्यान उपकरण गुणस्तरहीन रहेको र त्यस प्रक्रियामा आर्थिक हिनामिना गरिएको पुष्टि भएपछि बिहीबार मुद्दा दायर गरिएको हो। यस प्रकरणमा तत्कालीन रजिष्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारी तथा उपकरण आपूर्ति गर्ने हिमालयन मेडिटेक प्रालिका सञ्चालकलाई समेत प्रतिवादी बनाइएको छ।
अनुसन्धानका क्रममा १२८ स्लाइस सिटी स्क्यान मेसिन खरिद गर्दा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत बदनियत पूर्वक प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। उक्त अनियमितताका कारण नेपाल सरकार र प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको निष्कर्ष आयोगले निकालेको छ।
सोही रकम बराबरको बिगो असुल उपर गरिनुका साथै दोषीहरूमाथि कैद र जरिवानाको सजाय माग गरिएको आयोगको दाबी छ।
प्रतिक्रिया दिनुहोस्