काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दलहरूले निर्वाचनसम्बन्धी गतिविधिका लागि शुभेच्छुक तथा समर्थकबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट गरेको छ । तर कसैलाई निश्चित रकम तोकेर चन्दा माग्न भने नपाइने आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रचलित कानुनको सीमाभित्र रहेर प्रचार–प्रसारका लागि सहयोग संकलन गर्न सकिन्छ । उनले भने, सहयोग दिन चाहने व्यक्तिले स्वेच्छाले उम्मेदवार वा दलले निर्वाचन प्रयोजनका लागि खोलेको छुट्टै खातामा रकम जम्मा गर्न सक्छन् ।
निर्वाचन प्रयोजनका लागि खोलिएको खातामा जम्मा भएको रकम व्यक्तिगत काममा प्रयोग गर्न नपाइने व्यवस्था रहेको आयोगले दोहोर्याएको छ । सहयोग रकमको दुरुपयोग भएको पाइएमा कानुनी कारबाही हुने पनि आयोगको चेतावनी छ ।
यसैबीच, आयोगले आगामी निर्वाचनका लागि मतपत्र छपाई कार्यलाई तीव्र बनाएको जनाएको छ । हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाई भइसकेका छन् भने ७ हजार १३७ बाकसमा प्याकिङ सम्पन्न भइसकेको जानकारी दिइएको छ ।
प्रवक्ता भट्टराईका अनुसार ३२ जिल्लाका लागि आवश्यक मतपत्र छपाई तथा प्याकिङ कार्य पूर्ण रूपमा सकिएको छ । बाँकी जिल्लाहरूका लागि आवश्यक मतपत्र छपाई र व्यवस्थापनको काम पनि तीव्र गतिमा अगाडि बढिरहेको आयोगले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्