काठमाडौं । उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरुको उद्धार गरेको देखाई बीमा रकम दावी गरी गैह्र कानूनी रुपमा आर्थिक लाभ प्राप्त गरेकोमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आज डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको हो । पर्वत जिल्लाका उनलाई आज श्रीद्दी इन्टरनेशनल अस्पताल लाजिम्पाटबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।
यसअघि माघ ११ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ६ जना व्यक्तिलाई पक्राउ गरिसकेको छ ।
सीआईबीले विभिन्न ट्राभल कम्पनीका सञ्चालक तथा म्यानेजरलाई पक्राउ गरेको छ । सीआईबी प्रमुख मनोज केसीले नक्कली कागजात बनाएर पर्यटकलाई ठगी गर्नेहरुलाई पक्राउ गरेका बताएका थिए । जसमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरेको केसी रहेका थिए ।
माउन्टेन रेस्क्युका सञ्चालक रिमाल र म्यानेजर पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक अधिकारी र अपरेशन म्यानेजर थपलिया तथा एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्सका सञ्चालक पाण्डे र म्यानेजर केसीलाई पक्राउ गरेको हो । उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको केसीको भनाय छ ।
सीआईबीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको छ । जसमा १० करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ । नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । जसमा ८२ लाख डलर माग दाबी गरेको छ ।
एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्कयू गरेको छ । यसबापत ११ लाख ५३ हजार डलर माग दाबी रहेको छ । यो विवरण सन् २०२२ भन्दा पछिको भएको केसीले बताए । पछिल्लो समय सन् २०२५ मा पनि यस्तो घटना भएको केसीको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्