काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले निजी क्षेत्र त्रसित बनेको छ । उक्त आन्दोलनका कारण ९८ प्रतिशत लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।
एक अध्ययन अनुसार २ प्रतिशत व्यवसायीले आफ्नो मनोबलमा कुनै फरक नपरेको प्रतिकृया दिएका छन् । अध्ययनले ९७ प्रतिशत व्यवसायीले लगानीको वातावरण कमजोर भएको (२२ प्रतिशतबाट अत्यधिक असर परेको जवाफ प्राप्त) स्वीकरेका छन् ।
क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यासायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन अनुसार यसले व्यवसायीको आत्मविश्वास निकै कमजोर बनेको पुष्टि गर्छ । तर, लगानी थप गर्न वा व्यवसाय विस्तार गर्न लगानीकर्तामा धेरै अनिच्छा देखिएको छैन । अध्ययनले ८ प्रतिशतले कुनै पनि हालतमा लगानी नबढाउने बताउँदा पर्ख र हेरको अवस्थामा ७० प्रतिशत र थप लगानी गर्न २१ प्रतिशत व्यवसायी इच्छुक देखिएका छन् । यसले चुनौतीमा पनि लगानीकर्ता आशावादी रहेको देखाएको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनले निम्त्याएको भौतिक वा आर्थिक क्षति, यसबाट व्यवसायीमा ठूलो चोट परेको छ । जेनजी आन्दोलनका क्रममा उद्योग, बैंक, व्यापारिक प्रतिष्ठान तथा सवारीसाधनमा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । प्रत्यक्ष भौतिक क्षतिभन्दा अप्रत्यक्ष आर्थिक क्षति अझ भयावह छ । जुन करिब ८१ अर्ब रुपैयाँ छ । यसले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ५ प्रतिशतसम्म प्रभाव पार्ने अनुमान गरिएको छ ।
जेनजी प्रदर्शनका कारण व्यवसायीले भोगेको क्षतिको प्रकृति विश्लेषण गर्दा भौतिक क्षति (आगजनी, तोडफोड र लुटपाट) भन्दा ठूलो असर मनोबलमा परेको पाइएको छ । सहभागीमध्ये ६७ प्रतिशत व्यवसायीमा मनोवैज्ञानिक क्षति परेको पाइयो भने ५४ प्रतिशतबाट बजार प्रभावित भएको जवाफ प्राप्त भएको छ ।
यसैगरी वित्तीय क्षेत्रमा परेको प्रभाव विश्लेषण गर्दा कर्जा असुली प्रभावित भएको, कर्जाको माग घटेको र क्षमता भएका ऋणीले पनि किस्ता तिर्न आलटाल गरिरहेको पाइएको छ । बीमा दाबी भुक्तानी निकै बढेको जवाफ प्राप्त भएको छ ।
व्यवसायीहरूमाथि किन यसरी आक्रमण भयो त भन्ने प्रश्नको जवाफ पहिल्याउने क्रममा निजी सम्पत्तिमा आक्रमण हुनुको मुख्य कारण अफवाह तथा भ्रमपूर्ण सूचना हो भन्ने सहभागी व्यवसायी ६९ प्रतिशत छन् । यसैगरी सम्पत्ति कमाउनेप्रति नकारात्मक दृष्टिकोणलाई एक कारण मान्नेहरू ६६ प्रतिशत छन् भने व्यक्तिगत रिसइबी र कुण्ठाका कारण व्यवसायीलाई आक्रमण भएको मान्ने व्यवसायी ४१ प्रतिशत छन् ।
अध्ययनका क्रममा व्यवसायीहरूमा चरम निराशा, असुरक्षा र अनिश्चितताजन्य त्रास फैलिएको पाइएको छ । धेरै उद्यमीहरूमा ‘नेपालमा व्यवसाय गर्नु नै गल्ती रहेछ’ भन्नेसम्मका भाव विकास भएको पाइएको छ । आफ्नै लगानी र मेहनतबाट खडा गरेको व्यवसाय आफ्नै अगाडि ध्वस्त भएको देख्दा व्यवसायीहरू ‘पोस्ट–ट्रमाटिक स्ट्रेस’बाट गुज्रिरहेको पाइएको छ ।
निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको देखिएको छ । नयाँ लगानीका योजनाहरू स्थगित भएका छन् र केही उद्यमीहरूले ‘पुँजी पलायन’ सम्मको सोच बनाउन थालेको पाइएको छ । नेपाल लगानीका लागि असुरक्षित गन्तव्य बनेको सन्देश जाँदा वैदेशिक लगानी प्राप्त हुने सम्भावना झन् क्षीण भएको छ ।
समाजमा व्यवसायीहरूलाई रोजगारी सिर्जना र राजस्वमा योगदान गरेबापत आर्थिक विकासका सारथि भन्नुपर्नेमा ‘नाफाखोर’ वा ‘शोषक’ का रूपमा हेर्ने गलत भाष्य विकास भएको महसुस व्यवसायीले गरेका छन् । खासगरी मिडिया, राजनीतिक दल र शिक्षा प्रणालीले उद्यमशीलतालाई सम्मान गर्ने संस्कृति विकास गर्न नसक्दा निजी क्षेत्रप्रति सर्वसाधारणमा नकारात्मक दृष्टिकोण हावी भएको देखिन्छ ।
जेनजी विद्रोहलगत्तै सरकारले शान्ति सुरक्षा कायम गर्न, निजी क्षेत्रका कुरा सुन्दै केही तत्कालीन राहतका प्याकेज ल्याउँदा लगानीकर्तामा केही आशा पलाएको छ । देश नै रहन्छ कि रहँदैन भन्ने विन्दुबाट सुरक्षा र विश्वासको वातावरण बन्ने उपलब्धि ‘मलमपट्टी’ बनेका छन् । अर्थमन्त्री लगायत निजी क्षेत्रको कुरा सुन्ने र बुझ्ने मन्त्रीहरूको भूमिकाप्रति व्यावसायिक जगत खुसी देखिन्छ ।
तर, अन्तरनिकाय समन्वय अभाव हुनु, प्रमाणसहित किटानी जाहेरी दिँदा पनि प्रदर्शनका नाममा अपराध गर्नेहरूलाई कारबाहीको सट्टा बचाउने पक्ष हावी हुनुले निजी क्षेत्रको मनोबल अझै कमजोर नै देखिन्छ । निजी सम्पत्तिको रक्षा र कानुनी शासनको प्रत्याभूति नभएसम्म केवल छलफल र आश्वासनले मात्र खस्किएको व्यावसायिक आत्मविश्वास फर्किन निकै कठिन देखिन्छ ।







प्रतिक्रिया दिनुहोस्