काठमाडौं । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम आरम्भ गरेको घोषणा गरेका छन् ।
यो अभियानले देशभरका विद्यालयहरुमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ । जसबाट ५० हजार भन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
हाल नमुना परियोजनाका रूपमा अघि सारिएको यो कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी साइबर सचेतना सत्रहरू सञ्चालन गरिनेछ । कार्यक्रम अन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ ।
ती पुस्तक कार्यक्रम सत्र पश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्र, छात्राहरूलाई वितरण गरिनेछ । पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयन पश्चात यो अभियान आगामि आर्थिक वर्षमा अन्य प्रदेशमा पनि सञ्चालन गरिने योजना रहेको छ ।
यो वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस्ः एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई रहेको छ ।
नेपालमा एनसेल र नासा सेक्युरिटीजले संयुक्त रूपमा सुरु गरेको कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित एसआईटी सत्रका क्रममा गरिएको थियो । कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले सम्बोधन गर्दै डिजिटल सुरक्षा तथा आजको डिजिटल युगमा कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे आफ्ना बुझाइहरू विद्यार्थीहरूसमझ साँझा गरेका थिए ।
एसआईटी कार्यक्रम नेपालमा सुरक्षित अनि समावेशी डिजिटल इकोसिस्टम प्रवद्र्धन गर्ने एनसेल फाउन्डेसनको प्रतिविद्धतासँग जोडिएको छ ।
“म एक बाबु पनि हुँ, त्यसैले अभिभावकको रूपमा व्यक्तिगत डाटाको सुरक्षा मेरो लागि अत्यन्त महत्वपूर्ण विषय हो । आजको समयमा इन्टरनेटले हाम्रो दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेल्छ । प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै जाँदा यससँग सम्बन्धित जोखिमहरू बुझ्नु र त्यसका लागि तयार रहनु झन् आवश्यक भएको छ । एसआईटी कार्यक्रममार्फत हामीले विद्यार्थी तथा युवाहरूलाई डिजिटल संसारमा सुरक्षित, जिम्मेवार र आत्मविश्वासका साथ रहन आवश्यक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेका छौं । यस कार्यक्रमले नयाँ पुस्तालाई आफू सुरक्षित रहँदै डिजिटल अवसरहरूको अधिकतम उपयोग गर्न आवश्यक मार्गदर्शन र टुल उपलब्ध गराउनेछ भन्नेमा म आशावादी छु,” एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने ।
यो सहकार्यले दुवै संस्थालाई जिम्मेवार डिजिटल प्रवर्धकका रूपमा स्थापित गर्दै र उदीयमान जोखिमहरूलाई सक्रिय रूपमा सम्बोधन गर्दै डिजिटल साक्षरता, दृढता तथा व्यापक डिजिटल इकोसिस्टममा विश्वास निर्माणमा योगदान पु¥याउनेछ ।
“डिजिटल प्लेटफर्महरूले युवाहरूले सिक्ने, अन्तरक्रिया गर्ने वा प्रतिक्रिया जनाउने र निर्णय लिने तरिकालाई बढ्दो रूपमा प्रभावित गर्दै गएकाले उनीहरूको अनलाइन सुरक्षा सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी बनेको छ। आजको विश्वमा डिजिटल साक्षरता र साइबर जागरण वित्तीय साक्षरतासरह नै महत्वपूर्ण छन् भन्ने विश्वास गर्दछौं । एनसले फाउन्डेसनसँगको सहकार्यमा सञ्चालित एसआईटी अभियानमार्फत हामी विद्यार्थीहरूलाई प्रविधिको जिम्मेवार प्रयोग गर्ने, आफ्नो डिजिटल पदचिन्ह संरक्षण गर्ने र डिजिटल इकोसिस्टममा सुरक्षित रूपमा नेभिगेट गर्न व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखेका छौं । यो कार्यक्रमले नेपालभर जिम्मेवार डिजिटल सशक्तीकरण र सामुदायिक विकासप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,” नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदन पौड्यालले भने ।
हालसम्म एसआईटी सत्रहरू नौ वटा विद्यालयमा सञ्चालन गरिसकिएको छ जसमा कास्कीमा रहेका श्री राष्ट्रिय माध्यमिक विद्यालय, श्री अमरसिंह माध्यमिक विद्यालय, लिटल स्टेप सेकेन्डरी स्कुल, भास्कर मेमोरियल स्कूल, सेन्ट–मेरिज स्कूल र रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुल छन् । साथै ललितपुरमा सेन्ट–मेरिज स्कूल, बानी विलास हाई स्कूल, र भक्तपुरमा आदर्श हाई स्कूलमा एसआईटी सत्रहरू सञ्चालन भइसकेका छन्। कार्यक्रम कार्यन्वयन साझेदारका रुपमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरेको छ ।







प्रतिक्रिया दिनुहोस्