काठमाडौं । नेपालमा रोजगार पोर्टल, अनलाइन व्यापार प्लेटफर्म, समाचार पोर्टल तथा व्यवसाय निर्देशिका जस्ता डिजिटल माध्यमहरू उपलब्ध भए पनि पर्याप्त समन्वयको कमी, विश्वसनीय सूचनाको अभाव र दीर्घकालीन संरचनाको कमजोरी देखिएको अवस्थामा ‘ग्लोबल डायरी’ नामक कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित एकीकृत डिजिटल पारिस्थितिकी प्रणाली सार्वजनिक गरिएको छ ।
हाल व्यवसायीहरूले महँगो डिजिटल बजारीकरण, उच्च सञ्चालन लागत, वेबसाइट निर्माण तथा सर्च इन्जिन अनुकूलन खर्च व्यहोर्नुपरेको छ । नागरिकहरूले आधिकारिक सेवा प्रदायक र सरकारी सूचना एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सक्ने सुविधा सीमित भएको छ । विशेषगरी नयाँ पुस्ताका युवाले डिजिटल माध्यमबाट सूचना खोज्ने क्रम बढ्दो भए पनि राष्ट्रिय स्तरको भरपर्दो डिजिटल प्लेटफर्मको आवश्यकता महसुस गरेका छन् ।
ग्लोबल डायरीले नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय डिजिटल संरचनामा जोड्ने लक्ष्य लिएको छ । यसमार्फत नागरिकले प्रमाणित सेवा प्रदायक खोज्न, सेवा–सामग्रीको समीक्षा तथा मूल्याङ्कन हेर्न र आवश्यकताअनुसार निर्णय लिन सक्नेछन् । व्यवसायहरूले आफ्नो डिजिटल उपस्थिति वेबसाइट स्तरमा विस्तार गर्न, बजारीकरण खर्च घटाउन तथा ग्राहकसँग प्रत्यक्ष संवाद गर्न सक्ने सुविधा पाउनेछन् । सरकारी निकायले आफ्ना सूचना, कार्यक्रम र गतिविधि संरचनागत रूपमा प्रकाशन गर्न सक्ने व्यवस्था रहेको छ ।
प्लेटफर्ममा सामाजिक अन्तरक्रिया, सामग्री आदानप्रदान, समाचार अद्यावधिक, रोजगार अवसर, आधिकारिक बिक्रेताका सेवा तथा उत्पादनको सूची, उपभोक्ता मूल्याङ्कन प्रणाली, प्रत्यक्ष संवाद सेवा तथा कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित सामग्री वर्गीकरण प्रणाली उपलब्ध हुने जनाइएको छ । साथै सरकारी सूचना र प्रतिवेदनहरू आधिकारिक रूपमा प्रकाशन गर्न सकिने व्यवस्था पनि रहनेछ ।
यस प्रणालीले साना तथा मध्यम व्यवसायलाई सस्तो डिजिटल बजारीकरणको विकल्प प्रदान गर्दै सञ्चालन खर्च घटाउने विश्वास गरिएको छ । नागरिकले प्रमाणित विक्रेता तुलना, गुणस्तरीय सेवा छनोट, समय बचत र आफ्नो बजेटअनुसार सेवा–वस्तुको जानकारी प्राप्त गर्न सक्नेछन् । त्यस्तै राज्यलाई डिजिटल सुशासन, पारदर्शी सञ्चार र नागरिक सहभागिता बढाउन सहयोग पुग्ने दाबी गरिएको छ ।
कम्पनीका अनुसार प्लेटफर्म दर्ता प्रक्रिया पूरा भइसकेको छ र विभिन्न सरकारी निकायसँग समन्वय भइरहेको छ । आगामी दिनमा व्यवसाय डिजिटल रूपान्तरण उपकरण, प्रत्यक्ष सूचना प्रकाशन प्रणाली तथा थप परिष्कृत कृत्रिम बुद्धिमत्ता सुविधाहरू विस्तार गरिनेछन् । सबै व्यवसाय, सरकारी निकाय र नागरिकलाई ग्लोबल डायरी पारिस्थितिकी प्रणालीमा आबद्ध हुन सार्वजनिक आह्वान गरिएको छ ।
नेपालबाट सुरु भए पनि विश्वस्तरमा विस्तार गर्ने लक्ष्यसहित ल्याइएको यस प्रणालीले व्यापारिक समस्या समाधान, आधिकारिक सेवामा सहज पहुँच र डिजिटल सुशासनलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ । सहभागीहरूलाई लक्की ड्रमार्फत स्मार्टफोन, स्मार्ट घडी तथा कलेज प्रतिनिधि कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरिने बताइएको छ । साथै आधिकारिक व्यवसायिक संस्थाहरूले निःशुल्क डिजिटल बजारीकरण तालिम प्राप्त गर्ने र सरकारी निकायहरूले आधिकारिक पृष्ठमार्फत डिजिटल नेपाल अभियानमा सहभागी हुन सक्नेछन् ।







प्रतिक्रिया दिनुहोस्