काठमाडौं । नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ, जसबाट कुल ५० करोड रुपैयाँ बराबरको आईपीओ जारी हुने जनाइएको छ।
आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा नेपालीरिका होटेल लिमिटेडका तर्फबाट अध्यक्ष भोलेश्वर दुलाल तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। उक्त सम्झौतापछि निकट भविष्यमा साधारण सेयर निष्काशन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
पूर्वी नेपालको विराटचोकमा रहेको नेपालीरिका होटेलमा १४६ वटा कोठा छन्। त्यस्तै दमकस्थित नेपालीरिका होटलमा ३९ वटा कोठा तथा सुइट, रेस्टुरेन्ट र बारसहित परम्परागत नेपाली वास्तुकलामा निर्मित हेरिटेज ब्लक रहेको छ। होटलले ५० देखि १५०० जनासम्म क्षमताका भोज तथा सम्मेलन सुविधा र स्विमिङ पूल सेवा पनि प्रदान गर्दै आएको जनाएको छ।







प्रतिक्रिया दिनुहोस्