काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले माघ महिनाको तुलनामा ब्याजदर घटाएका छन् ।
बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर माघमा ४.६८४५ प्रतिशतविन्दु रहेकोमा फागुनमा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशतविन्दुमा सीमित भएको छ । यस्तै संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दर पनि समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दुले घटेको छ ।
फागुन महिनामा ९ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाउँदै ५.५ प्रतिशतबाट ४.७५ प्रतिशतमा झारेको छ । भने ११ बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ, जसले अधिकतम ५.१ प्रतिशत ब्याजदर घोषणा गरेको छ । सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकको रहेको छ । यी बैंकहरुले अधिकतम ४.२५ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।
संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ब्याजदर ४ प्रतिशत कायम भएको छ । हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले उक्त दरमा ब्याज प्रदान गर्नेछन् ।







प्रतिक्रिया दिनुहोस्