Skip to content

फेवातालमा माछा मार्ने क्रममा अत्याधुनिक एसएलआर राइफल र १८ राउन्ड गोली फेला

कास्की । पोखराको फेवातालमा अत्याधुनिक एसएलआर राइफल र त्यसमा प्रयोग हुने १८ राउन्ड गोली फेलापरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही माघ २९ गते साँझ खपौँदी नजिक स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हानी माछा मार्ने क्रममा मुवा १११ (बट) नम्बर बडी नम्बर १३८१० लेखिएको एसएलआर राइफल फेलापरेको थियो ।

हतियारसँगै सो राइफलमा लोड गरिएको १८ राउन्ड गोलीसहित एक थान म्यागजिन बरामद भएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । प्रहरीले तालमा फेलापरेको हतियार कसको हो भन्नेबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

“जाल हान्दा हतियार भेटिएको सूचनापछि प्रहरी पुगेर हतियार बरामद गरेको हो । त्यो हतियार प्रहरीको हो, सशस्त्रको हो वा नेपाली सेनाको भन्नेबारेमा अनुसन्धान भइरहेको छ”, प्रनाउ बस्नेतले भने ।

प्रहरीको केन्द्रीय हतियार भण्डारण शाखामा हतियारको अभिलेख रहने भएकाले कसको हो भन्ने छिट्टै पुष्टि हुने प्रहरीले जनाएको छ । सो हतियार गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हुनसक्ने पनि आकलन गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life