काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आफ्नो प्राथमिक सेयर निष्कासन (आईपीओ) को पहिलो कारोबार मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति असन्तुष्टि जनाएको छ। नेप्सेले तोकेको मूल्य दायरा कम्पनीको वास्तविक वित्तीय अवस्था विपरीत रहेको कम्पनीको दाबी छ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेप्सेले कम्पनीको शेयरको ओपनिङ रेन्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म निर्धारण गरेको छ । जुन अंकित मूल्यको तीन गुणासम्म मात्र हो । कम्पनीका अनुसार सूचीकरणका क्रममा अन्य कम्पनीहरूको मूल्य निर्धारण अभ्यास र आधारसँग तुलना गर्दा आफ्नो हकमा फरक व्यवहार गरिएको देखिएको छ ।
नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनको अनुमति दिएको उल्लेख गर्दै कम्पनीले उक्त विधिअनुसार निष्कासित शेयरको सूचीकरण सम्बन्धमा आवश्यक कानुनी तथा नीतिगत व्यवस्था नियामक निकायबाट स्पष्ट हुनुपर्ने बताएको छ। बुक बिल्डिङमार्फत मूल्य निर्धारण हुँदा प्रारम्भिक मूल्य आधार पनि फरक हुने भएकाले सोही आधारमा सूचीकरण मूल्य दायरा तय हुनुपर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार प्रतिशेयर ९१२ रुपैयाँ मूल्य कायम हुनु कम्पनीको वित्तीय प्रक्षेपण तथा सम्भावनालाई मध्यनजर गर्दै गरिएको वास्तविक मूल्याङ्कन हो। सोही मूल्यका आधारमा योग्य संस्थागत लगानीकर्ताबीच सिलबन्दी बोलपत्रमार्फत प्रतिकित्ता ८०५ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म शेयर खरिद मूल्य सीमा तय गरिएको थियो। संस्थागत लगानीकर्ताबाट तय भएको उक्त मूल्यलाई बुक बिल्डिङ निर्देशिकाअनुसार १० प्रतिशत छुट दिँदै सर्वसाधारणका लागि प्रतिकित्ता ७३०/८० रुपैयाँ आसपास मूल्य कायम गरिएको कम्पनीले जनाएको छ।
प्रेस विज्ञप्तिमा कम्पनीको हालको वित्तीय अवस्थाले पनि उच्च मूल्याङ्कनलाई समर्थन गर्ने उल्लेख छ। आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ४९१.५५ रुपैयाँ रहेको जानकारी दिइएको छ।
कम्पनीले लगानीकर्तालाई शेयरको सुरुआती कारोबार मूल्यभन्दा कम्पनीको वास्तविक वित्तीय अवस्था, प्रक्षेपण तथा दीर्घकालीन सम्भावनालाई आधार मानेर लगानी निर्णय लिन आग्रह गरेको छ।
यता केही लगानीकर्ताले सर्वसाधारणलाई ८२० मा र योग्य संस्थागत लगानिकर्तालाई ९१२ मा किन्न दिने अनि पहिलो कारोबार बढिमा ३०० रुपैयाँ मात्रै भएको भन्दै गुनासो गरेका छन् । लगानिकर्ताको लगानिलाई एकै पटक यसरी अवमुल्यन गर्न कुन कानून र अधिकारले गरियो कोहिसँग जवाफ छ ? हाम्रो जस्तो लाटो मार्केटमा भोलिको दिनमा यसको मुल्य ९१२ भन्दा पनि माथि जाला तर पनि यो प्रकृया ठिक नदेखिएको उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्