काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड रुपैयाँ एक वर्ष अवधिका लागि लगानी गर्ने भएको छ। बैंकले उक्त रकम इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रूपमा राख्ने निर्णय गरेको जनाएको छ।
राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाबाट दरखास्त आह्वान गरेको छ। आवेदन दिन चाहने संस्थाले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म निवेदन पेश गर्न सक्नेछन्।
कुल रकममध्ये वाणिज्य बैंकहरूका लागि ७ अर्ब ४८ करोड रुपैयाँ, विकास बैंकहरूका लागि १ अर्ब ४० करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागि ४६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ।
राष्ट्र बैंकले निक्षेप लिन चाहने संस्थाका लागि केही सर्तहरू समेत तोकेको छ। कुल कर्जा लगानीको ८ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) नभएको हुनुपर्ने मुख्य सर्त राखिएको छ। साथै, सम्बन्धित संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको, खुद तरल सम्पत्ति अनुपात र कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्नेछ।
यसैगरी, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने व्यवस्था छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा नभएको, भएमा फुकुवा भएको ६ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त पनि राखिएको छ।











प्रतिक्रिया दिनुहोस्