काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले “क” वर्गका बैंकहरु, बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कारबाही गरेको हो । जसमा एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ ।
एनआईसी एशिया बैंकले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गर्दै आएको पाइएको छ ।
बैंकलाई जारी गरिएको लिखित आदेशको समेत पालना नभएको पाइएकोले बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २(ग) बमोजिम २–२ लाख नगद जरिवाना गराइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै ग्लोबल आइएमई बैंकको स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ मा कैफियत देखिएको छ । जसले गर्दा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २)५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको छ ।
यस्तै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ को नं २-०८१ को व्यवस्था अनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी व्यवस्था पूर्ण रुपमा पालना नगरेको पाइएको छ ।
यस्तै बैंकको स्थलगत निरीक्षणको क्रममा कोर बैंकिङ सफ्टवयरमामा चुक्ता भइसकेको कर्जालाई पुरानै भ्यालु डेट राखी पुनः सिर्जना गर्न सक्ने अवस्था रहेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राष्ट्र बैंकबाट जारी गरिएको इ.प्रा. निर्देशन नं. २-०८१ को बुँदा नं. ३ (ज) को पूर्ण अनुपालना नगरी कर्जाको सुरक्षण नहुने किसिमले कर्जासँग सम्बन्धित कागजातहरुमा ग्राहकको सहिछाप नगराई तथा सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको पाइएको छ ।
इ.प्रा. निर्देशन नं. १५-०८१ को बुँदा नं. ३ ( ७) को पूर्ण अनुपालना नगरी एउटै प्रकृतिका कर्जाहरुको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले कायम गरेको तथा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ बुँदा नं. ८.५ र १०.१२ को पूर्ण अनुपालना नगरी तैमासको अन्तिम महिनाहरुमा नयाँ अल्पकालिन कर्जाहरु प्रवाह गरेको पाइएको छ ।
उक्त कर्जाहरुलाई कर्जा असुलीमा प्रयोग गरेको पाइएकोले बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्