काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएकी छन्।
जोमसोमस्थित नेपाल सेनाको इन्द्र बक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई विशेष ध्यान दिन आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्न निर्देशन दिएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् । प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन ।
मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल र मुक्तिनाथ रानीपौवाका गाउँमुखीलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी र सहयोगीहरुसँगै करिब २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं पर्यटकसँग भलाकुसारीसमेत गरेकी छन् ।
कार्कीलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष गुरुङ र मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले प्रधानमन्त्री कार्कीसमक्ष मुक्तिनाथ मन्दिरमा भक्तजनले भोग्नुपरेका समस्याबारे जानकारी गराएका छन् ।
विकास समितिका उपाध्यक्ष गुरुङले मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण योजनाबारे पुरातत्व विभागमा फाइल पेस भए पनि स्वीकृतिका लागि विलम्ब भइरहेकाले काम गर्न नसकिएको गुनासो गरिएको जानकारी दिए ।
“मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री पूर्वाधारका लागि चेन्जिङ रुम, १०८ धारा पुनर्निर्माण, एनएक्स भवन, आनी आवासलगायत आठवटा योजना पुरातत्वमा फाइल पेस गरेका छौँ । स्वीकृत हुन ढिलाइ भएकाले काम अगाडि बढेको छैन, यस विषयमा प्रधानमन्त्रीको मौखिक ध्यानाकर्षण गराइएको छ”, उनले भने ।
जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा पुरातत्व विभागका महानिर्देशकसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुुसालले बताए ।










प्रतिक्रिया दिनुहोस्