काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा २२ अर्ब ३४ करोड १४ लाख ७८ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । चालु आर्थिक वर्षको ७ महिनामा १२ लाख २० हजार ६३२ ग्राम (१ हजार २२०.६३२ किलो) सुन आयात भएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार प्रतिमहिनामा १७४ किलाको हाराहारीमा सुन आयात भएको छ । प्रतिदिन ५ किलोको हाराहारीमा सुन आयात भएको हो । सुन आयातबाट सरकारले माघ मसान्तसम्म २ अर्ब २३ करोड ५४ लाख २१ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
नेपालले सबैभन्दा धेरै सुन आयात संयुक्त अरब इमिरेट्स (युएई) बाट हुने गरेको छ। विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार युएइबाट ११ लाख ५३ हजार ८० ग्राम सुन आयात गरिएको छ। उक्त सुन आयातको कुल मूल्य करिब २१ अर्ब २० करोड १ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिसँगै अमेरिकी डलरको भाउ बलियो हुँदा यसको प्रत्यक्ष असर नेपालमा परेको देखिएको छ।
विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, विभिन्न देशहरूबिचको राजनीतिक तनाव तथा आर्थिक संकटका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका छन्, जसले माग बढाएर मूल्य उकासेको छ।
यस्तै, प्रमुख आर्थिक शक्तिहरूले ब्याजदरमा परिवर्तन गर्दा पनि सुनको बजार प्रभावित भएको छ। ब्याजदर घट्दा बैंकमा निक्षेपभन्दा सुनमा लगानी गर्न रुचि बढ्ने भएकाले यसको मूल्य माथि जान्छ। नेपालमा विवाह सिजन र चाडपर्व नजिकिँदै गर्दा सुनको माग थप बढ्ने भएकाले बजारमा मूल्य उच्च रहिरहेको व्यवसायीहरू बताउँछन्।










प्रतिक्रिया दिनुहोस्