काठमाडौं । आम रूपमा एउटा भाष्य विकसित भएको छ, ‘चुनाव आयो अब पुँजी बजार उकालो लाग्छ ।’ यो भाष्य सधै लागू हुन्छ भन्ने छैन । फागुन २१ गतेका लागि निर्वाचन नजिकिँदै छ । तै पनि सेयर बजारमा उल्लेख्य रौनक भने छैन ।
यस पटक बजारमा रौकन कम देखिएको छ । सेयर बजारले अपेक्षित उत्साह देखाउन सकेको छैन । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसको कारण सेयर बजारमा उत्साह नदेखिएको नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजारमा परम्परागत चुनावी उत्साह देखिएको छैन । गत माघ १७ गते २७१४ बिन्दु रहेको नेप्से परिसूचक फागुन १२ गतेसम्म आउँदा घटेर २६३८ बिन्दु कायम भएको छ । यस अवधिमा सेयर बजार करिब ७६ अंकले घटेको नेप्सेले जनाएको छ । माघ महिनामा दैनिक १६ अर्ब रुपैयाँसम्म सेयर कारोबार भएको बजारमा अहिले घटेर दैनिक ५ अर्ब रुपैयाँको हाराहारीमा झरेको छ ।
फागुन २१ गतेभन्दा अगाडी अब ४ कारोबार दिनमात्र सेयर कारोबार हुन्छ । यो हप्ताको २ कारोबार दिन र आगामी साता २ कारोबार दिन सेयर कारोबार हुनेछ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको छ । सरकारको नेतृत्वमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनाल रहेका छन् । जेनजी आन्दोलन पछि बनेको सरकार पनि सेयर बजारकै पक्षमा रहेको लगानीकर्ता समेत रहेका रौनियार बताउँछन् ।
यसैगरी, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लचकता अपनाएको छ । अहिले ब्याजदर न्यून छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ । यसले पुँजी बजारलाई टेवा दिन सक्ने आधार भएको रौनियार बताउँछन् । अहिले कर्जाको ब्याजदर एकदमै न्यून बिन्दुमा झरेको छ । तर, बजारले भने लय समाउन सकेको छैन । पुस मसान्तसम्म बैंकहरुको कर्जाको आधारदर औसत ४.७६ प्रतिशत छ ।
सेयर बजार बढ्न नसक्नुको कारण राजनीतिक अन्यौलता रहेको रौनियारको बुझाई छ। आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा लगानीकर्तामा चुनाव निष्पक्ष र शान्तिपूर्ण रूपमा हुन्छ कि हुँदैन ?, अहिले भएका झडप वा अस्थिरताहरू अरू बढ्ने हो की ? भन्ने त्रास देखिएको कारण लगानीकर्ता मनोवैज्ञानिक रूपमा लगानी गर्न तयार नदेखिएको उनले बताए ।
‘अब चुनाव हुने पक्का भो । चुनावपछि के होला, कसको सरकार आउँदा ? सरकारको नीति कस्तो हुने हो? भन्ने प्रश्नले पनि सेयर बजारमा उत्साह नदेखिएको उनको बुझाई छ । राजनीतिक स्थिरता, चुनावी वातावरण र परिणामपछि बन्ने सरकारको स्वरूपले पुँजी बजारको आगामी दिशा निर्धारण गर्ने उनले बताए ।
यसअघि २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनदेखि हालसम्म सेयर बजारमा उत्साह नदेखिएको उनको बुझाई छ । २०७९ मंसिरमा भएको चुनावको समयमा पनि सेयर बजारले खासै गति लिन सकेको थिएन । २०७९ मंसिर महिनामा सेयर बजार स्थिर अवस्थामा देखिएको थियो ।
२०७९ कात्तिक १५ गते सेयर बजार मापक नेप्से परिसूचक १९३०.९७ बिन्दुमा थियो भने चुनावभन्दा अघिल्लो कारोबार दिन मंसिर १ गते नेप्से परिसूचक १९३६.८३ बिन्दुमा थियो । यसैगरी, चुनावपछिको कारोबार दिनहरूमा पनि सेयर बजारमा खासै ठुलो सुधार भएको देखिँदैन् । २०७९ मंसिर १३ गतेसम्म सेयर बजार झन् ओरालो लागेको थियो । त्यस दिन सेयर मापक नेप्से परिसूचक १८९९ बिन्दुमा थियो ।
२०७९ मा चुनाव गराउने सरकारको प्रधानमन्त्रीमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा रहेका थिए भने अर्थमन्त्रीमा नेकपा माओवादीका नेता जर्नादन शर्मा थिए । चुनावपछि पुष्प कमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भए । अर्थमन्त्रीमा सेयर बजारले रुचाएको एमालेका नेता विष्णु पौडेल आए । तर, पनि औषतमा सेयर बजारले भने गति लिन सकेको देखिएन् ।
उक्त समयमा बजारमा तरलताको अभाव, ब्याजदर उच्च भएको कारण लगानीकर्ताको मनोबल माथि उठ्न नसकेको सम्बन्धित क्षेत्रमा जानकारहरू बताउँछन् । यसैगरी, उक्त समयमा सेयर बजारमा लगाइएको ४–१२ को क्याप नीति, सिडी रेसियो लगायतका कुराले सेयर बजार बढ्न सकेन भन्ने लगानीकर्ताको धारणा छ । तर, यो चुनावमा उक्त समयमा भएको तरलता अभाव नीतिगत क्यापहरू सबै सहज भएको छ । तर, सेयर बजारले गति लिन सकेको छैन ।
यसैगरी, २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा भने सेयर बजारमा केही सुधार देखिएको थियो । २०७४ को प्रतिनिधि सभा निर्वाचन अगाडी संघीय संसद् पुनः स्थापना र संविधान लागू गर्ने क्रममा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री र अर्थमन्त्रीमा कांग्रेस कै ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए । २०७४ को प्रतिनिधि सभा निर्वाचन मंसिर १७ गते भएको थियो । चुनावपछि नेकपा एमालेका नेता केपी ओली प्रधानमन्त्री र युवराज खतिवडालाई अर्थमन्त्री बने ।
प्रतिनिधिसभा निर्वाचन २०७४ को मंसिर १ गते सेयर बजार १५०४ बिन्दुमा थियो । त्यसपछि चुनाव अघिको कारोबार दिन सूचक १५३७ बिन्दुमा थियो । चुनाव भएको केही दिनपछि (पुस १ गते) भने सेयर बजार मापक नेप्से परिसूचक घटेर १३९० बिन्दुमा झरेको नेप्सेले जनाएको छ । चुनावको अघिल्लो कारोबार दिनहरुमा सामान्य बढेको सेयर बजार चुनावपछि भने घटेको तथ्यांकले देखाउँछ । यसले चुनावको समयमा सेयर बजारमा लगानी भित्र्ने बताइन्छ । जसले बजार बढाउन सहयोग पुग्ने तर्क छ ।










प्रतिक्रिया दिनुहोस्