सुनसरी । धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ ।
धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २०८० भदौ ११ गते विमानस्थल निर्माण गर्ने भन्दै सो क्षेत्रको जग्गा बिक्री वितरण सिफारिस रोक्ने निर्णय गरेका थिए ।
उक्त निर्णयका कारण धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा करिब एक हजार बढी घरपरिवारको जग्गा रोक्का गरिएको थियो । धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाका अनुसार स्थानीय जग्गाधनीको निवेदनपछि यति इन्कर्पोरेट प्रालिको नाममा रहेको जग्गाबाहेक अन्य जग्गाको रोक्का हिजो मङ्गलबारदेखि फुकुवा गरिएको छ । फुकुवासम्बन्धी निर्णय वडा नं १७ कार्यालय, मालपोत तथा नापी कार्यालयमा पठाइसकिएको कार्यवाहक नगर प्रमुख बेघाले जानकारी दिए ।
डाँडाघोपामा करिब २२ वर्षअघि यति इन्कर्पोरेटले विमानस्थल निर्माण गर्ने योजनासहित करिब सात बिघा जग्गा खरिद गरेको थियो । निजी कम्पनीले विमानस्थल निर्माण गर्न पाउने स्पष्ट कानुनी व्यवस्था नरहेकाले विमानस्थल निर्माण अघि बढ्न सकेको थिएन । विमानस्थलका लागि सस्तो मूल्यमा जग्गा बिक्री गरेका स्थानीयले विमानस्थल नबन्ने भएपछि आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग गर्दै आएका थिए । २२ वर्षअघि यति इन्कर्पोरेटले विमानस्थल निर्माण गर्ने योजनासहित करिब २९ घरपरिवारसँग प्रतिकट्ठा २८ हजारदेखि ३२ हजारसम्ममा जग्गा खरिद गरेको थियो ।
विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक रूपमा डाँडाघोपामा विमानस्थल निर्माण उपयुक्त नहुने निष्कर्ष निकालेपछि सो परियोजना अन्योलमा परेको थियो । पछिल्लो समय तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा पुनः अध्ययन प्रक्रिया अघि बढाइएको थियो ।
प्राधिकरणले २०८० कात्तिक २३ गते प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत विमल खनाल र चार्टर्ड एकाउण्टेन्ट अनिल बस्नेत सदस्य रहेको तीन सदस्यीय टोली गठन गरी अध्ययन थालेको थियो । उक्त टोलीले २०८० मङ्सिर २१ गते प्रस्तावित विमानस्थल क्षेत्रको स्थलगत अध्ययन गरेको थियो ।
सो टोलीले विगतका प्रतिवेदनलाई आधार मानेर अध्ययन गरेको । प्राधिकरणले २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई पत्र पठाउँदै एटीआर–४२ क्षमताको जहाजका लागि विमानस्थल निर्माण गर्न करिब ९३ दशमलव २५ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरेको थियो । हाल ७२ सिट क्षमताका जहाज सञ्चालनमा रहेकाले अझ बढी क्षेत्रफल आवश्यक पर्ने निष्कर्ष टोलीले निकालेको थियो ।










प्रतिक्रिया दिनुहोस्