Skip to content

सरकारी अस्पतालमा ल्याब विस्तारदेखि कलेज स्थापना र सुकुम्बासी समस्या समाधानसम्म पहल गर्ने डा. शेखर कोइरालाको प्रतिबद्धता

nabil bank

मोरङ । डाक्टर शेखर कोइराला ले क्षेत्रीय सभालाई सम्बोधन गर्दै सरकारी अस्पतालको सेवा विस्तार, कलेज स्थापना र सुकुम्बासी समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले स्थानीय सरकारी अस्पतालमा अझै सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै विशेषगरी ल्याब र रगत परीक्षण सेवामा समस्या रहेको बताए। “सामान्य परीक्षणका लागि पनि बिरामीले बाहिर जानुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने, “आधुनिक ल्याब र रगत जाँचको पूर्ण व्यवस्था मिलाउने काम अब प्राथमिकतामा पर्छ।”

स्वास्थ्य सेवाकै सन्दर्भमा उनले आफ्नी आमाले सञ्चालन गरिरहेको संस्थामार्फत भुरिगङ्गाका हरेक वडामा मासिक रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको उल्लेख गरे । ती शिविरमा उपलब्ध सेवा–सुविधा अन्य धेरै स्थानमा समेत सहज रूपमा नपाइने दाबी उनको थियो । आगामी दिनमा यस्तो सेवामूलक कार्यलाई अझ व्यवस्थित र व्यापक बनाइने उनले बताए ।

शिक्षातर्फ संकेत गर्दै डा. कोइरालाले स्थानीयस्तरमै कलेज स्थापना गर्न पहल गर्ने घोषणा गरे । हाल विद्यार्थीहरू उच्च शिक्षाका लागि विराटनगर जान बाध्य रहेको उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो ठूलो समस्या भएको बताए । “अब हाम्रो छोराछोरीले पढ्नका लागि घर छोड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने ।

सभामा उपस्थित सुकुम्बासी समुदायलाई सम्बोधन गर्दै उनले सुकुम्बासी समस्या देशव्यापी भए पनि स्थानीयस्तरमा निष्पक्ष समाधानका लागि आफू अग्रसर हुने बताए । सम्बन्धित आयोगका केन्द्रीय सदस्यलाई क्षेत्रमै ल्याएर पारदर्शी रूपमा लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गरे ।

विकास निर्माणका कामहरू जारी रहेको उल्लेख गर्दै उनले सडक, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता क्षेत्रमा भएका प्रगतिलाई निरन्तरता दिइने बताए । साथै, महिलाहरूको उल्लेखनीय उपस्थितिलाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै महिला उद्यमशीलता प्रवर्द्धनका लागि तालिम तथा सहयोग उपलब्ध गराइने जानकारी दिए ।

उनले मतदातालाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरे । सभा उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi