काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनलाई लक्षित गर्दै १५ बुँदे अपिलपत्र सार्वजनिक गरेको छ। पार्टीले आगामी निर्वाचनलाई स्वच्छ, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने घोषणा गरेको हो।
पार्टीद्वारा सार्वजनिक अपिलपत्रमा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख छ। बाह्य हस्तक्षेपका गतिविधिप्रति सजग रहँदै राष्ट्रिय स्वाभिमान जोगाउन दृढतापूर्वक उभिने प्रतिबद्धता पनि जनाइएको छ।
अपिलपत्रमा संघीयता, समानुपातिक तथा समावेशी सहभागितासहितको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थालाई सुदृढ र सुस्थिर बनाउने अठोट व्यक्त गरिएको छ। लोकतन्त्रको स्थायित्वबिना विकास सम्भव नहुने भन्दै प्रणालीविरुद्ध हुने गतिविधिलाई असफल पार्ने उल्लेख गरिएको छ।
त्यसैगरी, संविधानको पूर्ण कार्यान्वयनमा जोड दिँदै कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक परिमार्जन गर्न सकिने तर त्यसका लागि संविधानले तोकेको प्रक्रिया नै अपनाइनुपर्ने धारणा राखिएको छ। शासकीय स्वरूपलगायत विषयमा गम्भीर समीक्षा गरी सुधारका पहल गरिने जनाइएको छ।
पार्टीले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र जटिल रहेको उल्लेख गर्दै यसलाई सरल, कम खर्चिलो र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। स्पष्ट जनादेश आउने व्यवस्था सुनिश्चित गरी राजनीतिक स्थिरता कायम गर्ने लक्ष्य पनि अपिलपत्रमा समेटिएको छ।
सुशासन र पारदर्शितालाई विशेष प्राथमिकता दिँदै पार्टीले भ्रष्टाचार, कमिसनतन्त्र र ढिलासुस्ती अन्त्य गर्न कठोर कदम चाल्ने जनाएको छ। उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी हालसम्म सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने तथा भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने नीति पनि अघि सारिएको छ।
पार्टीले जनताको घरदैलोमै प्रभावकारी सेवा प्रवाह गर्ने, सङ्घीयताको मर्मअनुसार शासन सञ्चालन गर्ने र आर्थिक समृद्धिको दिशामा ठोस कार्यक्रम अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। निर्वाचनमार्फत जनताबाट स्पष्ट जनादेश प्राप्त गरी देशलाई स्थिरता, सुशासन र विकासको मार्गमा अघि बढाउने पार्टीको दाबी छ।










प्रतिक्रिया दिनुहोस्