काठमाडौं । नेपाल राष्ट्र बैंकमा हाल कायम रहेका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रको कार्यकाल यही फागुन २४ गते सकिँदैछ ।
त्यसपछि रिक्त हुने २ जना डेपुटी गभर्नरका लागि लबिङ तिब्र सुरु भएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । त्यसैले निर्वाचन अघि भने राष्ट्र बैंकले डेपुटी गभर्नर पाउने छैन । त्यसपछि मात्रै नियुक्ती हुने छ । डेपुटी गभर्नर भने यही सरकारले नियुक्त गर्नेछ ।
२ जना डेपुटीका लागि हालका १८ जना कार्यकारी निर्देशकहरूले तिब्र रुपमा लबिङ सुरु गरेका छन् । स्रोतका अनुसार १८ जना कार्यकारी निर्देशकहरुमध्येबाट केहीले काम काजलाई समेत थाती राखेर तयारी तिब्र बनाएका छन् ।
तर, परिस्थिती भने यसपटक निकै भिन्न देखिएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सृजना भएको परिस्थितीका कारण डेपुटी बन्न चाहनेहरु राजनीतिक दलका नेताको घर घर धाउनु परेको छैन ।
राष्ट्र बैंक ऐनले कायम रहेका कार्यकारी निर्देशकबाट डेपुटीमा नियुक्त गर्ने व्यवस्था गरेको छ । २ जना डेपुटी नियुक्त गर्न अर्थमन्त्रीसँगको सल्लाहमा गभर्नरले ४ जनाको नाम सिफारिस गर्ने प्रचलन छ ।
हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक छन् । तिनै १८ जना कार्यकारी निर्देशकहरुमध्येबाट गभर्नरले ४ जनाको नाम डेपुटी गभर्नरका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने र ४ जनाको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदमा लगेर सरकारले २ जनालाई डेपुटीमा सिफारिस गर्ने व्यवस्था विद्यमान छ ।
हाल राष्ट्र बैंकमा नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमिल्सिना, चेत प्रसाद उप्रेती, रोशन कुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीराम पोख्रेल, दीर्घराज रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजन विक्रम थापा र राजेन्द्र भट्टराई कार्यकारी निर्देशक छन् ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यी १८ जना मध्येबाट ४ जनाको नाम सिफारिस गर्ने छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन नभएको थियो भने डेपुटी नियुक्तीमा राजनीतिक दलको प्रभाव निकै हुने थियो । सम्भावित अपेक्षितहरुले विभिन्न राजनीतिक दलका नेता तथा पार्टी कार्यालय चहार्नु पर्ने थियो । उक्त आन्दोलनका कारण त्यो बाटो भने अहिलेका लागि बन्द भएको छ ।
जेनजी आन्दोलनअघिसम्म राष्ट्र बैंकको भावी डेपुटीका रुपमा कार्यकारी निर्देशकहरु गुरु प्रसाद पौडल, रामु पौडेल, डा. सत्येन्द्र तिमिल्सिनाहरुको नाम निकै चर्चामा थियो । केही समयअघि मात्रै कार्यकारीमा बढुवा भएका दीर्घराज रावलले पनि आफुलाई डेपुटी बन्न सक्ने सूचीमा राखेका थिए । उनले आफुलाई यो सूचीमा राख्नुको कारण भनेको आफु गभर्नर पौडेलकोले विद्यार्थी भएको कारण पनि हो । उनलाई डा पौडेलले पनि रुचाउने गरेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
यसअघि राजनीतिक दलको भागमा परेको आधारमा डेपुटी बन्दा सत्ता साझेदार दलले नियुक्ती गर्ने गरेका थिए । तर, यो पटक भने जेनजी आन्दोलन, आन्दोलनको मर्मलाई आत्मसाथ गर्न सक्नुका साथै अर्थमन्त्री रामेश्वर खनाल र गभर्नर पौडेलको नजरमा पर्नुपर्ने केन्द्रीय बैंक स्रोतको दाबी छ ।
स्रोतका अनुसार राष्ट्र बैंक भित्र करिब ८ जना कार्यकारी निर्देशन काँग्रेस, ७ जना एमाले निकट मानिन्छन् । बाँकी माओवादी निकट मानिन्छन् । जेनजी आन्दोलन अघि सरकार एमाले र काँग्रेसको थियो । त्यो समयमा जो आफुलाई एमाले, काँग्रेसको साथ छ भन्दै हिडेका थिए, उनीहरुले अब राजनीतिक आडमा डेपुटी बन्ने सम्भावना शुन्य प्राय भएको छ ।
माओवादीको साथ आफुलाई रहेको ठान्नेहरु बरियता क्रममा केही तल छन् ।
यसपटक डेपुटी बन्नका लागि कार्यक्षमताका आधारमा अब्बल, कार्यकारी बनेको बर्णनुक्रम, कुन कुन विभागमा रहेर काम गरेको अनुभव छ त्यस्ता विषयमा पनि ध्यान दिनुपर्ने बुझाइ छ ।
प्रधानमन्त्री सुशिला कार्कीले पनि नियुक्ती गर्नै परेमा योग्यता, क्षमता, कार्यअनुभव लगायतलाई प्राथमिकता दिनका लागि आन्तरिक रुपमा सर्कुलर गरेको बताइन्छ । यसले गर्दा ज्यू हजुर मात्रै भन्दा पनि योग्यता, क्षमता, कार्य अनुभवलाई प्राथमिकतामा राख्ने सम्भावना बलियो बताइन्छ ।
तर, कतिपयले गभर्नर काँग्रेस निटक भएका कारण कतै ‘म पनि काँग्रेसी निकट हुँ नी हजुर’ भन्नेको नाम गभर्नर डा. पौडेलले लिएर अर्थमन्त्री समक्ष सिफारिसका लागि जाने हुन की भन्ने चर्चा पनि रोकिएको छैन । यस्तो चर्चाकाबीच पनि अर्थमन्त्री खनालले अधिकांश कार्यकारी निर्देशकहरुको कार्यक्षमताको मूल्याङकनलाई विभिन्न समयमा नजिकबाट हेरेको भएर चर्चा केवल चर्चामा नै सिमित हुने हो की भन्ने चासो पनि उत्तिकै छ ।
जेनजी आन्दोलनपछि राष्ट्र बैंकमा डेपुटी नियुक्त गर्ने विषय गभर्नर पौडेल र मन्त्री खनालको हातमा छ । गभर्नर डा. पौडेल काँग्रेस निकट भएका कारण यो पटक डेपुटी बन्ने सम्भावना काँग्रेस निकटक रहेका कार्यकारीहरुको बढी रहेको बताइन्छ । राष्ट्र बैंक स्रोतका अनुसार नरेश शाक्य, विश्रुत थापा, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, दीर्घराज रावल, डा. डिल्लीराम पोख्रेल पहिलो प्राथमिकतामा रहेको स्रोतको दाबी छ ।
यस पटक डेपुर्ट गभर्नर बनाउँदा सम्भावितले कुन कुन विभागमा बसेर काम गरेका छन्, उसको कार्यक्षमता लगायतका विषयलाई बढी केन्द्रीत हुनुपर्ने राष्ट्र बैंक भित्रका कर्मचारीको माग छ ।
धेरै तल्लो बरियताका कार्यकारीलाई डेपुटी बनाउँदा आन्तरिक विवाद हुने हो की, माथील्लो तहमा रहेका कार्यकारीलाई काम गर्न मनोवैज्ञानिक रुपमा असर पर्ने हो की, चेन अफ कमाण्ड बिथोलिने हो की भन्ने विषयलाई पनि हेरिने स्रोतको दाबी छ ।










प्रतिक्रिया दिनुहोस्