रामेछाप । रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।
फागुन २१ मा हुने निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक आरपी यादव र साघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रमा निर्वाचन अधिकृतका रूपमा खटिएका रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशवसिं धामीले जानकारी दिए ।
दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये जिल्लाको खाँडादेवी गाँउपालिका–४ का ४७ वर्षीय सब्बरबहादुर मानन्धर, भीमबहादुर मानन्धर, रामेछाप नगरपालिका–२ का २८ वर्षीया सविना खड्का, मन्थली नगरपालिका–३ का ४७ वर्षीय केदारकुमार रोक्का र सर्लाहीको लालबन्दी नगरपालिका स्थायी ठेगाना भई हाल भीमेश्वर प्रसुन कँडेल माविका शिक्षक कृष्णप्रसाद घिमिरे र ठेगाना नखुलेकी २५ वर्षीया दुर्गा कार्कीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त गाडी देउराली र साँघुटार गरी तीन वटा ‘बुथ’का निर्वाचन सामग्री, सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोली लिएर गइरहेको थियो । मावि देउरालीको निर्वाचन सामग्री बुझाएर सिरुबारी र हिमगङ्गा मावि साँघुटारमा रहेका दुई वटा मतदान केन्द्रका सामग्री लिएर जाँदै गरेको अवस्थामा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजनप्रसाद तिमिल्सिनाले जानकारी दिए । गाडी सडकबाट करिब २०० मिटरभन्दा तल खसेको थियो ।











प्रतिक्रिया दिनुहोस्