Skip to content

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

nabil bank

काठमाडौ‌ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको छ ।

जियोकले मतदान तयारी, राजनीतिक दलको सहभागिता, सहयोग, समन्वय, निर्वाचनका चुनौती, आयोगको तयारी र निर्वाचन सुरक्षाको अवस्थाबारे अध्ययन गरेको हो ।

राजनीतिक दल, मतदाता, उम्मेदवार, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँगको भेटवार्ता र कुराकानीका आधारमा प्रतिवेदन तयार गरिएको जियोकका महासचिव कृष्णमान प्रधानले जानकारी दिनुभयो ।

प्रतिवेदनमा भनिएको छ, “राष्ट्रिय पर्यवेक्षकको स्थलगत अवलोकन प्रतिवेदनमा समग्रमा निर्वाचन शान्तिपूर्ण, स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने आधार तयार भएको छ ।”

जियोकबाट निर्वाचनको राष्ट्रिय पर्यवेक्षणका लागि खटिनुभएका प्राध्यापक चिरञ्जीवी खनालले निर्वाचनको तयारी रफ्तारमा अघि बढिरहेको, कर्मचारी मतदानस्थलमा पुगिसकेको, मतदान केन्द्र निर्माण भइरहेको तथा सुरक्षा निकाय पनि जिम्मेवारीपूर्वक संवेदनशीलताका साथ आफ्नो स्थानमा तैनाथ भएको पाइएको जानकारी दिए।

उनले भने, “विगतमा राजनीतिक दल र उम्मेदवाले ठूला आमसभा र जुलुसमार्फत मतदातालाई प्रभाव पार्ने गरेकामा यसपटक भने गाउँटोलमै पुगेर भेटघाट गरेको पाइयो, निर्वाचनप्रति राजनीतिक दल कटिबद्ध र मतदाता उत्साहित रहेको पाइएको छ ।”

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अभियन्ता एवं जियोकका राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले निर्वाचनको लागि शान्तिपूर्ण वातावरण रहेको तथा मतदान केन्द्रका लागि आवश्यक पर्ने सबै स्रोतसाधनसहित कर्मचारीसहितको टोली मतदानस्थल पुगिरहेको जानकारी दिए ।

उनले भने “मतदाता, उम्मेवार, राजनीतिक दलका प्रतिनिधिसहित प्रमुख जिल्ला अधिकारीसमेत सुरक्षा संयन्त्र निर्वाचन शान्तिपूर्ण हुनेमा ढुक्क हुनुहुन्छ । हालसम्मको अध्ययन र विश्लेषणले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनको वातावरण बनेको छ ।”

अर्का राष्ट्रिय पर्यवेक्षक गणेशमान प्रधान र डा मिनेन श्रेष्ठले अधिकांश मतदान केन्द्र विद्यालय र वडा कार्यालय भवनमा रहेकाले समग्रमा मतदातामैत्री नै रहेको पाइएको जानकारी दिए । जियोकले सातै प्रदेशमा राष्ट्रिय पर्यवेक्षक खटाएर निर्वाचनपूर्वको अवस्थाबारे जानकारी लिएको हो ।

प्रतिवेदनमा भनिएको छ, “जिल्लामा एकीकृत सुरक्षा योजना कार्यान्वयन, निर्वाचन तयारी प्रशासनिक र सुरक्षात्मक दृष्टिले सन्तोषजनक छ, दलहरूबीच प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्तिपूर्ण छ ।”

देशभर निर्वाचन केन्द्रमा मतदान सामग्री र कर्मचारीको खटाइ योजनाअनुसार नै सम्पन्न भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । यसअघि उम्मेदवारको घरदैलो तथा चुनावी प्रचारप्रसार शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको छ ।

जियोकले मुलुकका ३६ जिल्लाका २५० स्थानीय तहमा ४०० को सङ्ख्यामा निर्वाचन पर्यवेक्षक खटाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi