काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्गलबार इजरायलका विदेशमन्त्री गिडियोन सारसँग टेलिफोन वार्ता गर्दै बेइजिङले इरानविरुद्धको सैन्य कारबाहीको विरोध गरेको बताएको सञ्चारमाध्यमले जनाएका छन् ।
मध्यपूर्वमा सप्ताहन्तमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि युद्ध सुरु भएको हो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको मृत्यु भएको जनाइएको छ र त्यसयता द्वन्द्व व्यापक क्षेत्रमा फैलिएको छ । तेहरानको निकट साझेदार चीनले यसअघि नै युद्धविरामको आह्वान गर्दै खामेनीको हत्यालाई ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दा गरेको थियो ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार वाङले इजरायली समकक्षीसँगको वार्तामा संवाद र परामर्शमार्फत मतभेद समाधान गर्नुपर्नेमा जोड दिए । उनले इरान र अमेरिकाबीच हालैका वार्ताहरू सकारात्मक दिशामा अघि बढिरहेको अवस्थामा सैन्य आक्रमणले त्यस प्रक्रियालाई अवरुद्ध गरेको बताए। “हालैको इरान–अमेरिका वार्ताले स्पष्ट प्रगति गरिरहेको थियो, तर दुर्भाग्यवश गोली हानाहानले त्यो प्रक्रिया रोकिएको छ”, उनको भनाइ उद्धृत गरिएको छ ।
वाङले अमेरिका–इजरायलको सैन्य कारबाहीप्रति चीनको विरोध पुनः व्यक्त गर्दै बल प्रयोगले समस्या समाधान नगर्ने धारणा राखे । “बलले समस्याको समाधान गर्दैन, बरु नयाँ समस्या र गम्भीर परिणाम निम्त्याउँछ”, उनले स्पष्ट पारे ।
उनले द्वन्द्व अझ फैलिन नदिन र नियन्त्रणबाहिर जानबाट रोक्न तत्काल सैन्य कारबाही रोक्नुपर्नेमा चीनको जोड रहेको उल्लेख गरे । चीनले संवादमार्फत समाधान खोज्ने प्रयासलाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।











प्रतिक्रिया दिनुहोस्