काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यसपटकको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र हिंसारहित रूपमा सम्पन्न भएको बताएका छन् । उनले सरकार गठन भएदेखि नै राजनीतिक हिंसाबाट एक थोपा रगतसमेत नखसेको दाबी गर्दै निर्वाचन प्रक्रियामा पनि हिंसात्मक घटना हुन नदिइएको बताएका हुन्।
निर्वाचनपछिको प्रतिक्रिया दिँदै गृहमन्त्री अर्यालले यस निर्वाचनले मुलुक, संविधान र मानवताको रक्षा हुने विश्वास दिलाएको बताए। उनले निर्वाचन सम्पन्न हुन नसकेको भए देश, संविधान र मानवता नै जोखिममा पर्न सक्ने अवस्था आउने दाबी गरे।
“यो चुनावले मानवता जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ,” उनले भने, “यदि निर्वाचन हुन सकेको नहुने भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो।”
अर्यालले यसपटकको निर्वाचन विगतका चुनावभन्दा गुणस्तरीय ढंगले सम्पन्न भएको दाबी गरे। सरकारको मुख्य अपेक्षा सुदृढ र व्यवस्थित चुनाव गराउनु रहेको उल्लेख गर्दै उनले सो लक्ष्य पूरा भएको बताए।
उनका अनुसार निर्वाचनका क्रममा कतिपय स्थानमा झडप हुने सम्भावना देखिए पनि सुरक्षाकर्मीको सक्रियता र व्यवस्थापनका कारण ती घटनालाई नियन्त्रणमा राखेर मतदान सम्पन्न गराइएको थियो। “एकाध ठाउँबाहेक हिंसात्मक झडप हुन पाएनन्। हुन खोजेका ठाउँमा पनि समयमै रोकथाम गरेर काबुभित्र राख्यौँ,” उनले भने।
गृहमन्त्री अर्यालले विगतका चुनावमा धेरै ठाउँमा मतदान स्थगन भएर पुनः चुनाव गराउनुपर्ने अवस्था आउने गरेको स्मरण गर्दै यसपटक भने देशभर एकैचोटि मतदान सम्पन्न भएको बताए। उनका अनुसार कतै पनि मतदान स्थगन गर्नुपर्ने अवस्था सिर्जना भएन।
उनले राजनीतिक सुशासनका मानकहरू अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए। “हामीले राजनीतिक सुशासनका मानकहरू बढाउनुपर्छ र सुदृढ गर्नुपर्छ, ताकि भविष्यमा आउने सरकारहरूले ती मानकहरू भत्काउन नसकून्,” उनले भने।
गृहमन्त्री अर्यालले सरकारले त्यही लक्ष्य र अपेक्षा राखेर निर्वाचन व्यवस्थापन तथा सुरक्षा संयन्त्र परिचालन गरेको उल्लेख गर्दै आगामी दिनमा पनि लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाइने बताए।











प्रतिक्रिया दिनुहोस्