तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका छन् ।
आज बिहान सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरे । यस्तै नेकपा एमालेका भगवती न्यौपानेले पाँच हजार आठ सय ३० मत र नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले दुई हजार तीन सय ९३ मत प्राप्त गरे ।
यस निर्वाचन क्षेत्रमा एक लाख २६ हजार आठ सय ८२ मतदाता रहेकामा ६८ हजार एक सय २९ मत खसेको थियो । डा वाग्ले तनहुँ क्षेत्र नम्बर १ मा दोस्रो पटक निर्वाचित भए ।
विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भए । त्यतिबेला पनि उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई भए । भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरे ।
को हुन् वाग्ले ?
विसं २०३१ मा गोरखाको बुङ्कोटमा जन्मिएका डा वाग्ले विसं २०८० वैशाखमा भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
राष्ट्रिय योजनाको आयोगको सदस्य, उपाध्यक्षका रुपमा काम गरेका वाग्लेले युनडिपी एशिया प्रशान्तका प्रमुख आर्थिक सल्लाहकारको रुपमा काम गरेका छन् । लण्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका वाग्ले विसं २०७१ मा नेपाल फर्किए ।
वाग्ले नेपालका चर्चित अर्थशास्त्री, नीतिविज्ञ तथा राजनीतिज्ञ हुन् । उनी आर्थिक नीति, विकास योजना र सार्वजनिक नीतिमा गहिरो अध्ययन र अनुभव भएका व्यक्तिका रूपमा परिचित छन् ।











प्रतिक्रिया दिनुहोस्