काठमाडौं । डेपुटी गभर्नरद्वय डा.निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र राष्ट्र बैंकबाट अवकाश पाएका छन् ।
दुवै जनाले आइतबारबाट अवकाश पाएका हुन् । उनीहरुको अवकाशसँगै राष्ट्र बैंकमा डेपुटी गभर्नर खाली भएको छ । रिक्त रहेको २ जना डेपुटी नियुक्ती यही सरकारले गर्छ वा आगामी सरकारले भन्ने सबैमा चासोको विषय बनेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार डेपुटी नियुक्त गर्न सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ को स्वीकृति पर्खेर बसेको छ । आगामी सरकार रास्वपाको नेतृत्वमा बन्नेछ । रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई अगाडि सारेको छ । त्यही भएर वर्तमान सरकारले डेपुटी गभर्नर नियुक्तीमा बालेनको निर्देशन कुरेर बसेको छ ।
‘केन्द्रीय बैंकमा डेपुटी गभर्नर खाली भएको छ । यो सरकार जे प्रयोजनका लागि बनेको हो, त्यो काम पुरा भएको छ । अब आएर नियुक्ती गर्ने विषय सरकारको प्राथमिकतामा छैन’ बालुवाटार स्रोतले भन्यो ‘ राष्ट्र बैंक संवेदनशिल क्षेत्र हो । सरकारको प्रमुख सल्लाहकार पनि हो । त्यहाँ नयाँ सरकार आएर नियुक्ती गर्ने र के गर्ने भनेर बुझ्छौ । उहाँ (बालेन) को समूहले यो सरकारले नियुक्त गरेको व्यक्तिलाई ढुक्कसँग विश्वास गर्न सकिन्छ भन्नु भयो भने योग्य व्यक्ति नियुक्त हुन्छन । हैन भने यो सरकारले नियुक्त गर्दैन ।’
स्रोतका अनुसार बालेन समुहले चाहेको खण्डमा यही सरकारले डेपुटी गभर्नर नियुक्त गर्छ । हैन भने अब आउने सरकारले नियुक्त गर्ने छ । नयाँ सरकार चैत दोस्रो सातासम्म बन्ने सम्भावना रहेको बताइन्छ । निर्वाचन आयोग न २७ गते बिहानसम्म समानुपातिक तर्फको सबै मत गणना भइसक्ने अपेक्षा गरेको छ । समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछन् ।
निर्धारित संख्यामा समानुपातिक क्लष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी क्लष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइने छ । आगामी चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्य सहित आयोगले काम गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । त्यसपछि नयाँ सरकार बन्ने क्रम सुरु हुनेछ ।
सरकारले डेपुटी गभर्नर नियुक्त गर्न राष्ट्र बैंकमा रहेका १८ जना कार्यकारी निर्देशकबाट २ जना डेपुटी गभर्नर बन्ने छन् । त्यसका लागि गभर्नर डा. विश्वनाथ पौडेलले ४ जनाको नाम सरकारलाई सिफारिस गर्नेछन् । डा. पौडेलले अर्थमन्त्रालयमा पेश गरेको ४ जनाको नाम मन्त्रिपरिषदमा लगेर मन्त्रिपरिषदले आगामी ५ वर्षका लागि २ जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ ।











प्रतिक्रिया दिनुहोस्