काठमाडौं । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुनु भन्दा अघिसम्म पर्ख र हेरको अवस्थामा रहेको सेयर बजारले नयाँ सरकारलाई निकै भव्य रुपमा स्वागत गरेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि भएको निर्वाचनले नयाँ सरकार पाएको छ । त्यो पनि करिब बहुमत सहितको सरकार पाएको छ । नेपाली राजनीतिमा बर्षौपछि स्थायी सरकार बन्ने पक्कापक्की देखिएको छ ।
त्यसको प्रभाव सोमबार सेयर बजारमा निकै देखियो । सम्पन्न निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दल मात्रै नभएर बहुमत प्राप्त दल बनाउने देखिएको छ । यसलाई सेयर बजारले पनि निकै भव्य रुपमा स्वागत गरेको छ । रास्वपाले निर्वाचनमा जानु भन्दा अघि नै बरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको घोषणा गरिसेकेको छ । पार्टीको बहुमत करिब आएको भएर बालेन प्रधानमन्त्री बन्ने प्राय निश्चित भएको छ ।
त्यो सँगै बालेनलाई सेयर बजारले स्वागत गरेको छ । निर्वाचन लगत्तै खुलेको पहिलो कारोबारमा लगातार तीन पटक सकारात्मक सर्किट लागेको छ ।
बजार ६ प्रतिशतले बढेर आजका लागि कारोबार बन्द भएको छ । कारोबार सुरु भएको एक मिनेटमा पहिलो सर्किट, पहिलो सर्किट पनि खुलेको बजार पुनः १ मिनेट जति करोबार भएर दोस्रो र दोस्रो सर्किट लागेर खुले लगत्तै तेस्रो सर्किट लागेर बजार आजका लागि बन्द भएको छ । यसले नयाँ जन अनुमोदित सरकारलाई बजारले भव्य स्वागत गरेको चर्चा सुरु भएको छ । शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा देखि नै सेयर बजार प्रति निकै सकारात्मक थिए । उनलाई बजारका लगानीकर्ताले रुचाउने गरेका पनि छन् ।

सेयर लगानीकर्ताले २०७९ असारमा लामो समय धितोपत्र बोर्डको ढोका नाजिकै आन्दोलन गरेका थिए । त्यो बेला लगानीकर्ताको आन्दोलनलाई सर्मथन जनाउन काठमाडौं महानगरपालिकाका तत्कालिन शाह आन्दोलन स्थल पुगेका थिए ।
त्यो बेला तिलक कोइराला अनसन बसेका थिए । उनले कोइरालाई भेटेर आफ्नो तर्फबाट आन्दोलनमा समर्थन रहेको जनाएका थिए । साहले अनसनकर्ता कोइरालालाई लगानीकर्ताको माग सम्बोधन गर्न आफूले सक्ने पहल गर्ने बाचा दिएका थिए ।
त्यो समयमा शाहले आन्दोलनस्थल पुगेर बजारको प्रभाव हेरेर नीति नियम तर्जुमा गर्नुपर्ने सुझाव दिएका थिए । पछि धितोपत्र बोर्डले आन्दोलनरत लगानीकर्ताबिच १८ बुँदे सम्झौता भयो । त्यसपछि केही समय बजार बढ्यो । आन्दोलनमा सम्झौता भएको विषय कार्यान्वयमा कसैले पनि चासो दिएनन् ।
त्यो बेला अनसन बसेका कोइराला अहिले एनआरएन इन्फ्रास्टक्र एण्ड डेभलपमेन्ट कम्पनी र सिटी होटलको सञ्चालक छन् । उनले आज बजारमा सकारात्मक सर्किट लागेपछि फेसबुकमा लेखेका छन् –‘हामीले पूँजी बजारको नीति, नियम, प्रविधि, पुर्वाधार र नियमनमा सुधार गरि राम्रो बनाउने नै छौ’
आज बजार १६२.९३ अंकले बढेर परिसूचक २८७५.४३ बिन्दु कायम भएको छ ।












प्रतिक्रिया दिनुहोस्