काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुई तिहाईका लागि केही सिट संख्या कम हुने भएको छ । पार्टी करिब करिब दुई तिहाइ नजिक पुगेको छ ।
रास्वपाले प्रत्यक्ष तर्फ १२५ सिट जितेको छ भने समानुपातिकमा ५७ सिट पाउने करिब पक्का भएको छ । यसका लागि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरिरहेको छ ।
निर्वाचनमा रास्वपाले प्रत्यक्ष र सामानुपातिक गरी १८२ सिट पाउने देखिएको छ । दुई तिहाइका लागि २ सिट कम हुने देखिएको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट चाहिन्छ । समानुपातिकमा १ करोड ७ लाख ७७ हजार ७६६ मत मध्ये रास्वपाले ५१ लाख ५० हजार ८५८ मत ल्याएको छ । यो कुल मतको ४७.७९ प्रतिशत हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउने देखिएको छ । कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ । कांग्रेसले १७ लाख ५४ हजार ६९५ मत ल्याएको छ । प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसको ३८ सिट हुने छ ।
एमालेले समानुपातिकबाट १६ सिट पाउने भएको छ । प्रत्यक्षमा ९ सिट जितेको छ । प्रतिनिधिसभा २५ सिट हुनेछ ।
एमालेले समानुपातिकमा १४ लाख ५२ हजार ७४ मत पाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकमा ९ सिट पाउने भएको छ । प्रत्यक्षमा ८ सिट जितेको छ । प्रतिनिधिसभामा नेकपाको १६ सिट हुनेछ । नेकपाले समानुपातिकमा ८ लाख ९ हजार २९० मत पाएको छ ।
यस्तै श्रम संस्कृति पार्टीले सामानुपातिकमा ४ सिट पाउने भएको छ । श्रम संस्कृतिले प्रत्यक्षमा ३ सिट जितेको छ । कुल ७ सिट हुनेछ । सामानुपातिकमा ३ लाख ८५ हजार ६८९ मत पाएको छ ।
यस्तै प्रत्यक्षमा १ सिट जितेको राप्रपाले सामानुपातिकमा ४ सिट पाउने भएको छ । यो सहित सभामा कुल ५ सिट हुनेछ । राप्रपाले समानुपातिकमा ३ लाख ३० हजार ११८ मत पाएको छ ।











प्रतिक्रिया दिनुहोस्