Skip to content

सेबोनले तोकेको पुँजी पुर्याउन १० वटा ब्रोकरले अझै सकेनन्

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन १० वटा ब्रोकर कम्पनीले अझै सकेका छैनन् ।

अर्थ मन्त्रालयको स्वीकृतिपछि धितोपत्र बोर्डले पुँजी नपुगेका कम्पनीलाई गत असार मसान्तमा ९ महिनाको समय दिएको थियो । त्यो समय चैत मसान्तमा सकिँदैछ । चैत मसान्तसम्म ब्रोकरको पुँजी २० करोड पुर्याउनु पर्नेछ ।

समय सकिन १ महिना बाँकी हुँदा अझै १० वटा कम्पनीको पुँजी पुगेको छैन । पुँजी नपुगेका कम्पनीको चुक्ता पुँजीमा अरुण सेक्युरिटिजको ५ करोड, दिब्या सेक्युरिटिज एण्ड स्टक हाउसको १० करोड, क्रियटिभ सेक्युरिटिजको ५ करोड ५० लाख, कालिका सेक्युरिटिज ३ करोड, मार्केट सेक्युरिटिज ५ करोड, प्रज्ञान सेक्युरिटिज १४ करोड ५ लाख, सगरमाथा सेक्युरिटिज २ करोड, सिप्ला सेक्युरिटिज २ करोड, श्री हरि सेक्युरिटिज ३ करोड ६ लाख र स्वेता सेक्युरिटिजको २ करोड ६ लाख थियो ।

यी कम्पनीहरुले चैत मसान्तसम्म पुँजी पुर्याउने प्रतिबद्धता जनाएको सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले बताए । १० वटा ब्रोकर कम्पनीले पुँजी पुर्याउने भनेपनि लिखित रुपमा कु्नै योजना बुझाएका छैनन् । सबै मौखिक मात्रै रहेको बोर्डको भनाइ छ ।

धितोपत्र बोर्डले गत असार अगाडि धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ लाई संशोधन गर्दै ब्रोकरको पुँजी पुर्याउने व्यवस्था ९ महिना थप गरेर स्वीकृतीका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।

अर्थ मन्त्रालयले उक्त नियमावली संशोधन गर्दै असार ३० गते धितोपत्र बोर्डमा पठाएर बोर्डले मन्त्रालयले स्वीकृत गरेर पठाएको नियमावली अनुसार पुँजी बढाउन भनेको हो ।

यसअघि २०८२ असार मसान्तभित्र ब्रोकरको चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था थियो । बोर्डले तोकेको समयमा ब्रोकरले पुँजी पुर्याउन नसकेपछि ९ महिना समय थपिएको हो । थपेको समय सकिन १ महिना बाँकी हुँदा १० कम्पनीको पुँजी पुगेको छैन ।

बोर्डले धितोपत्र व्यवसायी गाभ्ने र गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका–२०८१ गत चैत १५ गते जारी गरेको छ ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई २०७९ भदौ २९ गते पाँचौ संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता तोकेको थियो । नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्णकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार हाल धितोपत्र व्यापारीको संख्या २ (नागरिक स्टक डिलर र नबिल स्टक डिलर) रहेका छन् । यस्तै पूर्ण कार्यगर्ने ब्रोकरको संख्या २ रहेको छ । जसमा हिमालयन सेक्युरिटिज र एनआईएमबि स्टक मार्केट छन् । बाँकी ८८ वटा सीमित कार्य गर्ने ब्रोकर रहेका छन् । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को २०७९ भदौ २९ गते भएको पाँचौं संशोधनको नियम ७ को उपनियम ३ मा ‘धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने र गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ’ भन्ने व्यवस्था गरेको छ । यो ब्यबस्था ब्रोकरको पुँजी पुर्याउन गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi