पोखरा । आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट नेपालले विद्युत आयात गर्ने विषयमा सहमति भएको हो । नेपाल–भारत विद्युत आदान–प्रदान समिति को १७औँ बैठक यस्तो सहमति गरेको हो । बैठक फागुन २८ र २९ पोखरामा सम्पन्न भएको हो ।
बैठकमा नेपाल र भारतबीच विद्युत आदान–प्रदानका लागि पीईसी मार्फत विद्युत खरिद गर्ने प्रक्रिया सन् १९९२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्राधिकरणले जानकारी दिएको छ । तीन दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको यो संयन्त्र नेपाल–भारत ऊर्जा सहकार्यको एक महत्वपूर्ण आधारका रूपमा स्थापित भएको पनि प्राधिकरणको भनाइ छ । बैठकले आगामी एक वर्षका लागि विद्युत खरिद दर निर्धारण गरेको पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रेदेव शाक्यले जानकारी दिए ।
बैठकमा नेपालको तर्फबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले नेतृत्व गर्नुभएको थियो भने भारतको तर्फबाट केद्रीय विद्युत प्राधिकरणका बोर्ड सदस्य विजय कुमार सिंहले गरे ।
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई उक्त बैठकमा वार्ता गरी विद्युत खरिद दरमा सहमति गर्न तथा सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो ।
समितिले कार्यकारी निर्देशकलाई उक्त बैठकमा वार्ता गरी विद्युत खरिद दरमा सहमति गर्न तथा आवश्यक सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो ।
वार्ताका क्रममा भारतको पक्षबाट विद्युत उत्पादन तथा आपूर्तिसँग सम्बन्धित लागतमा वृद्धि भएको उल्लेख गर्दै विद्युत खरिद दरमा ५.५ प्रतिशत वृद्धि गरिनुपर्ने प्रस्ताव राखिएको थियो ।
नेपालको पक्षबाट भने भारतीय विद्युत बजारको अध्ययन तथा उपलब्ध बजार सूचकांकका आधारमा हालको बजार दर अपेक्षाकृत कम रहेको उल्लेख गर्दै दर वृद्धिको आवश्यकता नरहेको तर्क प्रस्तुत गरिएको थियो ।
दुवै पक्षबीच भएको विस्तृत छलफल तथा विचार–विमर्शपछि गत वर्ष कायम गरिएको दरमा १.५ प्रतिशत मात्र वृद्धि गर्ने सहमति भएको प्राधिकरणले जानकारी दिएको छ । जुन वृद्धिदर अघिल्लो वर्षको समान रहेको छ । उक्त सहमतिअनुसार चालु वर्षका लागि १३२ के.भी. प्रसारण लाइनमार्फत खरिद गरिने विद्युतको दर प्रति युनिट ८.२२ रुपैयाँ, ३३ के.भी. स्तरमा प्रति युनिट. ८.९१ रुपैयाँ तथा ११ के.भी. स्तरमा प्रति युनिट ९.५५ रुपैयाँ कायम गरिएको छ । साथै विद्युत खरिद दरको संरचना सम्बन्धी विषयमा आगामी वर्ष पुनः विस्तृत समीक्षा गरी छलफल गर्ने सहमति पनि भएको छ।

यस सहमतिले आगामी चैत तथा वैशाख महिनामा पर्ने सुख्खा मौसममा नेपालको विद्युत आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। हाल नेपाल विद्युत प्राधिकरणले दैनिक करिब १२ देखि १४ हजार मेगावाट घण्टा विद्युत आयात गरिरहेको छ र सुख्खा मौसममा ऊर्जा माग बढ्दै जाँदा उक्त परिमाण अझ बढ्ने अनुमान गरिएको छ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर संजीव राय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरको पनि बैठकमा उपस्थिति रहेको थियो।
बैठकको अन्त्यमा दुवै पक्षले यस सहमतिले नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई अझ सुदृढ बनाउँदै क्षेत्रीय ऊर्जा सुरक्षालाई प्रवर्द्धन गर्ने तथा दुई देशबीचको दीर्घकालीन सौहार्दपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।











प्रतिक्रिया दिनुहोस्