काठमाडौं । कस्तुरी फर्मास्युटिकल्स कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १६ करोड रुपैयाँको १६ लाख कित्ता सेयर आईपीओ निष्कासन गर्ने जनाएको छ ।
यसका लागि कम्पनीले रिलायवल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । संस्थापकहरूबाट थप १४ करोड रुपैयाँ जारी भइरहेको र १६ करोडको आईपीओपछि कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ।
क्रेडिट रेटिङमा कम्पनीलाई इन्फोमेरिक्स नेपालले बीबी माइनस रेटिङ दिएको छ। जसले कम्पनीको वित्तीय अवस्था सुदृढ र जोखिम न्यून रहेको संकेत गर्छ।
कम्पनीले विगतका कर्जाहरू भुक्तानी गरी हाल जम्मा २४ करोड रुपैयाँ मात्र कर्जा रहेको जनाएको छ। गत पुस मसान्तसम्म सम्पनीको प्रति सेयर नेटवर्थ १२९.९३ रुपैयाँ छ।
१३ वर्षदेखि औषधि उत्पादनमा सक्रिय कम्पनीले हाल १८२ भन्दा बढी औषधि उत्पादनको अनुमति लिएको छ भने १२५ भन्दा बढी औषधिहरू बजारमा बिक्री गरिरहेको छ ।
१ बिघा १० कट्ठा क्षेत्रफलमा फैलिएको उद्योगको व्यवस्थापकीय नेतृत्व तीन दशक लामो अनुभव भएका कार्यकारी अध्यक्ष प्रवेक खनाल र प्रबन्ध निर्देशक ईश्वर भण्डारीले गरिरहेका छन्।











प्रतिक्रिया दिनुहोस्