Skip to content

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

nabil bank

काठमाडौं । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ । विश्व बजारमा देखिएको अस्थिरता कम गर्न यस्तो कदम चालिएको जनाइएको छ ।

एजेन्सीद्वारा आइतबार जारी विज्ञप्तिअनुसार आपतकालीन भण्डारबाट तेल छिट्टै विश्व बजारमा आपूर्ति हुन सुरु हुनेछ । यसका लागि सदस्य राष्ट्रहरूले तेल सार्वजनिक गर्ने सम्बन्धी आफ्ना कार्यान्वयन योजना पनि पेश गरिसकेका छन् । अमेरिका र युरोप क्षेत्रका सदस्य राष्ट्रहरूको भण्डारबाट भने मार्च महिनाको अन्त्यतिरदेखि तेल उपलब्ध गराइने जनाइएको छ ।

एजेन्सीका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व तेल आपूर्तिमा परेको अवरोधलाई ध्यानमा राख्दै मार्च ११ मा ३२ सदस्य राष्ट्रहरूले संयुक्त रूपमा चार सय लाख ब्यारेल तेल सार्वजनिक गर्ने निर्णय गरेका थिए ।

उक्त परिमाणमध्ये २७१ दशमलव ७ लाख ब्यारेल सरकारी भण्डारबाट, ११६ दशमलव ६ लाख ब्यारेल उद्योग क्षेत्रले अनिवार्य रूपमा राखेको भण्डारबाट र २३ दशमलव ६ लाख ब्यारेल अन्य स्रोतबाट उपलब्ध गराइने जनाइएको छ । कुल तेलमध्ये ७२ प्रतिशत कच्चा तेल र २८ प्रतिशत प्रशोधित पेट्रोलियम पदार्थ रहनेछ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले मध्यपूर्वमा जारी युद्धले विश्व तेल बजारको इतिहासमै सबैभन्दा ठूलो आपूर्ति अवरोध सिर्जना गरेको जनाएको छ । एजेन्सीका अनुसार सदस्य राष्ट्रहरूको संयुक्त कदम हालसम्मकै सबैभन्दा ठूलो सामूहिक आपतकालीन पहल हो, जसले विश्व तेल आपूर्तिमा महत्वपूर्ण सहारा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि एजेन्सीले तेल बजार स्थिर बनाउन होर्मुज जलडमरूमध्यबाट हुने सामान्य समुद्री ढुवानी पुनः सञ्चालन हुनु सबैभन्दा महत्वपूर्ण कारक रहेको पनि उल्लेख गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi