काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने सम्भावना र उपसभापति डा.स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त हुने सम्भावनाको टुङ्गो नलाग्दा, सेयर बजार अहिले ‘पर्ख र हेर’ को अवस्थामा छ।
लगानीकर्ता राजन लम्साल भन्छन्, ‘राजनीतिक अस्थिरता र मन्त्रीहरूको निर्णयको अनिश्चितताले बजारमा स्पष्ट दिशा दिन सकिरहेको छैन। लगानीकर्ताहरू अहिले जोखिम कम गर्ने र पर्खाइमा बस्ने रणनीति अपनाइरहेका छन्।’
उनका अनुसार, ‘यदि नेतृत्व टुङ्गो लाग्यो भने बजारले सकारात्मक गति लिने देखिन्छ । तर, बजारमा आउने नकारात्मक सूचनाहरूको कारण सेयर बजारमा अहिलेको उतार–चढाव देखिएको हो ।’
सेयर बजार प्रतिनिधि सवा सदस्यको निर्वाचन पछिको ‘मुमेन्ट’ पर्ख र हेरको अवस्थामा छ । प्रतिनिधि सवा निर्वाचन पछिको पहिलो कारोबार दिन फागुन २५ गते ३ पटकसम्म सकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजार पछिल्लो दिनहरूमा बढ्न सकेन । निर्वाचन पछिको पहिलो कारोबार दिन सोमबार कारोबार खुलेको १ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेर २० मिनेटको लागि बन्द भयो ।
यसैगरी, सोही दिन दोस्रो पटक खुलेको कारोबारमा पनि ५ प्रतिशत बढेर सकारात्मक सर्किट लाग्यो र सेयर बजार ४० मिनेटको लागि बन्द भयो । दोस्रो पटक सर्किट लागेर ४० मिनेटको लागि बन्द भएको सेयर बजार फेरी खुल्ने बित्तिकै ६ प्रतिशत बढेर सर्किट लागेर त्यो दिनको लागि कारोबार बन्द भयो । तर, त्यस पछि मंगलबार (फागुन २६ गते) खुलेको सेयर बजारमा खासै उत्साह देखिएन ।
‘लामो समयपछि सेयर बजारमा सकारात्मक सर्किट लाग्दा अधिकांश कम्पनीहरूको सेयर मूल्य बढ्यो ।’ लम्साल भन्छन्, ‘धेरै समयपछि बजारमा सकारात्मक सर्किट लाग्दा अधिकांश कम्पनीहरूको सेयर मूल्य उकालो लाग्यो। यसबाट धेरै लगानीकर्ताहरू ‘प्रोफिट बुक’ तिर हाबी भए, अर्थात् आफ्नो नाफा सुनिश्चित गर्न थाले।’ लगानीकर्ता नाफा सुनिश्चित गरेर व्यवहार मिलाउन तर्फ लाग्दा बजारमा केही ‘करेक्सन’ देखिएको उनको बुझाई छ।
निर्वाचन पछिको दोस्रो कारोबार दिन गतहप्ताको मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ३२.०८ अंकले घट्यो । तर, यस दिन कारोबार रकम भने ८ महिना यता कै उच्च भएको थियो । मंगलबार सेयर बजारमा २१ अर्ब २२ करोड २ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकमा आधारमा यस दिन पनि सेयर बजार उत्साहजनक नै भएका लम्साल बताउँछन् ।
त्यस पछिका कारोबार दिनहरूमा भने सेयर बजार मापक नेप्से परिसूचक तथा सेयर कारोबार रकम दुवै ओरालो लागेको छ । बुधबारको कारोबारमा नेप्से सूचक ४६.७८ अंकले ओरालो लागेको छ भने यस दिनको कारोबार रकम १२ अर्ब ९५ करोड ९२ लाख ५० हजार रुपैयाँमात्र भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से सूचक तथा कारोबार रकम दुवै घटेको छ ।
यसैगरी, गत साताको बिहीबार भने नेप्से सूचकमा केही सुधार आयो । बिहीबार नेप्से सूचक २३.८७ अंकले बढेको थियो । यसदिन कारोबार पनि बुधबारको तुलनामा केही बढेको देखिएको छ । त्यसपछिको कारोबार दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको थियो ।
यसदिन कारोबार पनि १३ अर्ब ८९ करोड ९२ लाख ९८ हजार रुपैयाँ बराबरको भएको छ । यसैगरी सोमबार आज पनि सेयर बजार मापन नेप्से परिसूचक घटेको छ । सोमबार सेयर बजार मापक नेप्से सूचक २६.०७ अंकले घटेको छ । यसदिन कारोबार रकम पनि निर्वाचन पछिका कारोबार दिनहरूको तुलनामा न्यून देखिएको छ । आज ११ अर्ब ६३ करोड २३ लाख ७९ हजार रुपैयाँ बराबरकोमात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।
लगानीकर्ता छोटेलाल रौनियारका अनुसार पनि राजनीतिक नेतृत्व र अर्थमन्त्रीको नियुक्ति टुङ्गो नहुँदा बजारमा स्पष्टता नआउनु मुख्य कारण हो। ‘नेतृत्व र मन्त्रिमण्डलको अनिश्चितताले लगानीकर्ताहरूलाई मनोबल कमजोर भएको छ । लगानीकर्ताहरू जोखिम मोल्न तयार देखिँदैन।’ रौनियार भन्छन् ।
यसैगरी, अव बन्ने मन्त्रीमण्डल नयाँ भएको कारण सेयर बजारको बारेमा कस्तो निर्णय गर्ने हो भन्ने कुरामा पनि अन्यौलता रहेको रौनियार बताउँछन् । अब बन्ने मन्त्री मण्डलले सेयर बजार सम्बन्धित नियमन निकायलाई राम्रो काम गर्ने वातावरण बनायो भने यसले बजारमा सकारात्मक प्रभाव पर्ने उनको बुझाई छ ।
हालको आर्थिक र वित्तीय अवस्था अनुसार सेयर बजार सकारात्मक बाटोमा नै देखिने अवस्था रहेको रौनियार बताउँछन् । उनका अनुसार सस्तो ब्याजदर, बजारमा पर्याप्त तरलता, र अन्य क्षेत्रमा लगानी कम हुँदा सेयर बजार लगानीको मुख्य क्षेत्र हो ।
प्रतिक्रिया दिनुहोस्