काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सांसदहरुलाई २०७९ र यस पटकको बाचा पत्र पढ्न आग्रह गर्दै रास्वपा कुन स्प्रिटमा जन्मियो भन्ने अध्ययन गर्न सुझाव दिएका छन् ।
आजदेखि शुरु भएको नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रममा उपसभापति डा. वाग्लेले रास्वपाले अब सांसदहरुको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै जुन कुराका लागि पुराना दललाई गाली गरियो त्यो दोहोराउने छुट नभएको स्पष्ट पारे ।
उनले निर्वाचनमा अत्यन्त गरुङ्गो जनादेश पाएको र यसलाई बचाएर जोगाएर लैजानु पर्ने चुनौती रहेको बताए ।
उनले २०१५ सालमा विपी कोइराला नेतृत्वको कांग्रेसले पाएको जनादेश भन्दा पनि अभूतपूर्व भएको बताएका छन् । उनले यसअघि दलहरुले पाएका जनादेशबाट के सिक्ने र नसिक्ने भन्नेमा स्पष्ट हुनुपर्ने बताएका छन् । उनले सांसदहरुको मुख्य काम कानुन बनाउनु पर्ने भएपनि आफ्नै सरकार भएपनि प्रश्न गर्नुपर्ने र आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए ।
उनले आर्थिक विकास निर्माणमा ध्यान दिनुपर्ने बताउँदै बाचापत्र अनुसार सिस्टम बसाल्नेमा रास्वपाको सरकार केन्द्रित हुने बताए । उनले भने– ’नेपाली जनताले रास्वपालाई काम गरेर देखाउनुपर्ने जनादेश दिनुभएको छ । यो ऐतिहासिक जनादेशको सम्मान गरेर काम गर्नुपर्ने जिम्मेवारी रहेको छ ।’
उनले नवनिर्वाचित सांसदहरुलाई प्रजातान्त्रिक व्यवस्थाको नियम सिक्नुपर्ने भन्दै गम्भीर भएर पदको गरिमालाई न्याय गर्न थप मिहिनेत गर्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानप्रति प्रतिबद्ध रहेको बताउँदै संबिधानकै दयारामा रहेर यसलाई सुधार गर्ने स्पष्ट गरे ।











प्रतिक्रिया दिनुहोस्