काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा जाने कर्जाको सदुपयोग नभएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर पौडेलले कृषि कर्जा लिएर वास्तविक प्रयोजनभन्दा बाहिर खर्च गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न बैंक तथा वित्तीय संस्थाहरू जिम्मेवार हुनुपर्ने बताए।
उनले कृषि कर्जा प्रवाह गर्दा वास्तविक रूपमा भैंसी किनिएको छ कि छैन भन्ने जाँच गर्ने प्रभावकारी प्रणाली आवश्यक रहेको उल्लेख गरे। ‘भैंसी किन्न ऋण लिने तर बिहेमा खर्च गर्ने प्रवृत्ति रोक्नुपर्छ,’ उनले भने, ‘यसका लागि बैंकका सिईओ र म्यानेजरहरूले ऋणको प्रयोग कहाँ भइरहेको छ भन्ने विषयमा कडाइका साथ अनुगमन गर्नुपर्छ।’
गभर्नर पौडेलले बैंकिङ क्षेत्रमा अनुशासन र पारदर्शिता अपरिहार्य रहेको बताउँदै कर्जा सदुपयोग सुनिश्चित गर्न व्यवस्थापन तह नै सक्रिय हुनुपर्ने धारणा राखे। त्यसैगरी, उनले आगामी दिनमा नेपाल राष्ट्र बैंकले प्रविधिमा केन्द्रित नीति अवलम्बन गर्ने जानकारी दिए। आईटी क्षेत्रमा लगानी बढाउन सहायक कम्पनीमार्फत पहल गर्ने र वित्तीय क्षेत्रको डिजिटाइजेशनलाई प्राथमिकता दिने उनको भनाइ छ।
बैंक शाखा विस्तारको सन्दर्भमा महानगर क्षेत्रका केही शाखा घटाउँदा सञ्चालन खर्च कम भएको र यसले नाफामा सकारात्मक प्रभाव परेको उनले बताए। पहिले १५० जनालाई सेवा दिने शाखाले अहिले २०–२५ जनालाई मात्र सेवा दिइरहेको उदाहरण दिँदै उनले दक्षता वृद्धि आवश्यक रहेको उल्लेख गरे। गभर्नर पौडेलले बैंकहरूलाई केवल नाफामुखी नभई समग्र अर्थतन्त्रको विकासतर्फ केन्द्रित हुन सुझाव दिए। ‘सेयरधनी मात्रै होइन, लगानीकर्ता र सेवाग्राहीलाई समेत सहज वातावरण बनाउनुपर्छ,’ उनले भने।
हाल बैंकिङ प्रणालीमा करिब ९०० अर्ब रुपैयाँ तरलता रहेको उल्लेख गर्दै उनले उक्त रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। त्यसका लागि वित्त नीतिलाई समेत सोहीअनुसार परिमार्जन गर्नुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्