काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमा जारी युद्ध अन्त्य गर्ने घोषणा गरेसँगै यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारमा देखिएको छ। कच्चा तथा तयारी पेट्रोलियम पदार्थको मूल्य घटेर १० प्रतिशतभन्दा तल झरेको अन्तर्राष्ट्रिय ऊर्जा बजार विश्लेषकहरूले बताएका छन्। केही दिनअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय अमेरिकी डलरसम्म पुगेको थियो।
११२ अमेरिकी डलर पुगेको ब्रेन्ट आयलको मूल्य १०० डलरमा यो समाचार प्रकाशित गर्नेबेलासम्म झरेको छ भने क्रुड आयलको ९८ प्रतिब्यारेलबाट ८८मा झरेको छ ।
राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा भइरहेका द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गर्ने विषयमा उच्चस्तरीय छलफल भएको र ‘पूर्ण समाधान’ का मुद्दामा ‘सकारात्मक संवाद’ अघि बढिरहेको बताएका छन्। उनले इरानका विद्युत् केन्द्रहरू तथा ऊर्जा संरचनामाथि हुनसक्ने सैन्य आक्रमण पाँच दिनका लागि रोक्ने घोषणा पनि गरेका छन्।
तर इरानले भने ट्रम्पको दाबी अस्वीकार गरेको छ। इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नचलिरहेको भन्दै ट्रम्पको अभिव्यक्तिलाई खारेज गरिएको छ।
यसअघि ‘ट्रुथ सोसल’ मा गरिएको एक पोस्टमार्फत राष्ट्रपति ट्रम्पले अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वको टकरावको पूर्ण समाधानका विषयमा ‘अत्यन्त राम्रो र सकारात्मक संवाद’ भएको दाबी गरेका थिए। उनले लेखेका थिए, “यी निर्माणात्मक वार्ताको दिशा र माहोललाई हेर्दा—जो पूरै हप्ता जारी रहनेछ—मैले अमेरिकी रक्षा मन्त्रालय लाई इरानका विद्युत् केन्द्रहरू र ऊर्जा संरचनामाथि हुने सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु। यो निर्णय बैठक तथा छलफल सफल हुने–नहुनेतर्फ निर्भर रहनेछ।”
तर इरानको विदेश मन्त्रालयले पुनः स्पष्ट पार्दै अमेरिकासँग कुनै औपचारिक वा अनौपचारिक वार्ता नचलिरहेको दाबी गरेको छ।
अमेरिकी घोषणासँगै तनाव केही कम भएको आकलनसँगै विश्व ऊर्जा बजारमा पेट्रोलियम पदार्थको मूल्य तात्कालिक रूपमा घट्दो क्रम देखिएको हो। विश्लेषकहरूका अनुसार आगामी केही दिन वार्ताको प्रगति तथा दुवै पक्षका अभिव्यक्तिले तेल बजारको मूल्य–दिशा निर्धारण गर्नेछ।












प्रतिक्रिया दिनुहोस्