काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी अध्ययन गर्न गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगलाई उद्योग वाणिज्य महासंघले पनि बयान दिएको छ ।
बयानमा राज्य सञ्चालन प्रणाली र राज्य सञ्चालकको भूमिका र क्रियाकलापको विरोधमा गत भदौमा भएको युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनसँगै स्वच्छ र मर्यादित काम र रोजगारी, आर्थिक समृद्धि र आर्थिक तथा सामाजिक विकासको माग गरेको स्पष्ट देखिएको उल्लेख छ ।
युवा पुस्ताले नुतन प्रविधिमा आधारित व्यवसायको विकास मार्फत उद्यमशीलता र रोजगारीको सुनिश्चितताको अपेक्षा गरेका छन् । ‘‘युवा पुस्ताको उद्यमशीलता, रोजगारी र बहुक्षेत्रगत आर्थिक एवम् सामाजिक विकासको अपेक्षाले साकार रुप लिन निजी क्षेत्रको सवलताको उपयोग अनिवार्य हुन्छ । पुँजी, उद्यमशीलता र प्रविधिको उपयोगमा निजी क्षेत्रको सम्भावनालाई पूर्ण परिचालन नगरेसम्म अर्थतन्त्रको विकासको आधार तयार हुँदैन । त्यसैले, युवापुस्ताको अपेक्षा बमोजिमको शासकीय सुधार, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि निजी क्षेत्रलाई प्रोत्साहन र प्रबर्धन गर्नु जरुरी हुन्छ । तर, पछिल्लो युवा आन्दोलनको क्रममा निजी क्षेत्रमाथि गरिएको प्रहार, रोजगारीको आधारका रुपमा रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठान र उद्यमीको निजी सम्पत्तिमा गरिएको श्रृङ्खलाबद्ध आक्रमण र आगजनीबाट निजी क्षेत्रको मनोबल कमजोर हुँदा युवा पुस्ताले राखेको अपेक्षा अनुसार रोजगारी सिर्जना गर्ने क्षेत्रमा ठूलो लगानी गर्ने साहस र चाहना अझै पूर्ण रुपमा जागृत हुन सक्ने अवस्था देखिदैंन । निजी क्षेत्रको सहभागिता र संलग्नता विना कुनै पनि देशको विकास सम्भव छैन भन्ने तथ्य स्थापित भइसकेको छ’’ प्रतिवेदनमा भनिएको छ ।
आयोगलाई दिएको बयानमा आन्दोलनको कारण निजी क्षेत्रलाई परेको पीडा र हानीको कुनै मौद्रिक मूल्य नभएता पनि आगामी दिनमा यस प्रकारको घटनाको पुनरावृत्ति हुन नदिने प्रतिबद्धता एवम् सोही अनुसारको आवश्यक प्रबन्ध गरी कमजोर रहेको मनोबललाई माथि उठाउन यस्तै प्रकारका आन्दोलनबाट प्रभावित देशहरुले निजी क्षेत्रको सुरक्षा र प्रवर्धनका लागि गरेको प्रयासलाई पनि अनुभवको रुपमा ग्रहण गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्ले निजी क्षेत्रको सुरक्षा र प्रवर्धन रणनीतिक योजना स्वीकृत गरी लागु गर्नु आवश्यक रहेको उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्