काठमाडौं । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो निवासमा भेटिएको भनिएको रकमबारे सामाजिक सञ्जालमा फैलाइएको विवरण एआईबाट तयार गरिएको भ्रामक सामग्री भएको बयान दिएका छन्। उनले सम्बन्धित व्यक्तिले उक्त सामग्रीलाई पूर्णतः असत्य र योजनाबद्ध रूपमा फैलाइएको षड्यन्त्र भएको बताएका छन्।
उनका अनुसार नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा तयार गरेको मुचुल्कामा उल्लेख गरिएको रकम ठूलो परिमाणको नभएको स्पष्ट छ। तर सामाजिक सञ्जालमा भने उक्त विवरणलाई तोडमोड गर्दै अतिरञ्जित रूपमा प्रस्तुत गरिएको देखिएको छ।
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको वयान कागज व्यहोरा
२०८२ भाद्र २३ गतेको दिन म बुढानिलकण्ठ वडा नं २ बासुकी मार्ग स्थित मेरो निजी निवासमा थिए र सो दिन बेलुका बालुवाटारमा पनि उपस्थित भई मैले सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनु भएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिईन। भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरु मेरो निजी निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दा रोक्दै हामी माथि हातपात भयो र केही जियनजेडका युवाहरुले बचाए। हामी राति २२:०० बजेतिर सुरक्षित स्थान पुग्यौं । नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिमाण थिएन। सामाजिक संजालको विवरण AI generated हुनुपर्छ । सो सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन । यो नितान्त षड्यन्त्र हो तर कस्ले गर्यो थाहा भएन । मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुचुल्का लगायतका विवरण लगेको हो र कारबाही सम्बन्धमा जानकारी छैन । मैले राजनीतिक हस्तक्षेप, पक्षपात गरेको छैन र २३-२४ गतेको घटनामा प्रहरीले आंकलन गर्न नसकेकोमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन। लोकतन्त्रमा ट्रेड युनियन अधिकार हो र व्यवहारिक हकहितको लागि प्रयोग गर्न पाउनुपर्छ। विद्यार्थी संगठन पनि बृहत्तर हितका लागि क्रियाशील हुनुपर्छ । मुलुकमा गैर-राजनीतिक संस्था वा संयन्त्रमा राजनीतिकीकरण गरिनु हुदैन । तोडफोड, लुटपाट, आगजनी गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ। देशमा युवाको भावना समेटेर नीतिगत, कानूनी र संस्थागत सुधार गर्नुपर्छ ।












प्रतिक्रिया दिनुहोस्