काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र साहले जेनजी आन्दोलनको क्रममा आफु सरकारी निवास लैनचौरमा रहेको बयान दिएका छन् ।
उनले जेनजी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको गौरी बहादुर कार्कीको आयोगलाई बयान दिने क्रममा भदौ २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका संचार माध्यमबाट थाहा पाएको र आफ्नो सामाजिक संजालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गरेको दाबी गरेका छन् ।
यस्तो छ बालेनले दिएको बयानः २०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिए । २३ गतेको शान्तिपूर्ण रैलीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन । व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछी महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका संचार माध्यमबाट थाहा पाए । मेरो सामाजिक संजालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो । जनधनको रक्षाको लागी सामाजिक संजाल मार्फत संयमता अपनाउन अपिल गरेको थिए । घटनापश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरुसँग समन्वय गरी घाइते र मृतकहरुको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। २४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ । २४ गते का।म।न।पा ले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो । सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो। तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ । काठमाँडौ महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदैगर्दा अनावश्यक रोकेपछी विरोधस्वरुप मेटाफोरको रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा “जलाई दिन्छु” शब्द प्रयोग भएको थिएन ।












प्रतिक्रिया दिनुहोस्