काठमाडौं । अखिल नेपाल सुकुम्वासी संघले सुकुम्वासी वस्तीहरुमा डोजर लगाएर आतंक सिर्जना गर्न बन्द गर्न माग गरेको छ । संघले बुधवार पत्रकार सम्मेलन गरी सुकुम्वासी बस्तीहरुमा डोजर लगाउन तत्काल बन्द गर्न माग गरेको हो ।
सरकारले कानूनी रुपमा भूमीहीन, अव्यवस्थित, सुकम्वासी समस्या समाधान गर्नुपर्नेमा उल्टो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीहरुमा डोजर लगाएर आतंक सिर्जना गरेको संघको आरोप छ । अखिल नेपाल सुकुम्वासी संघका इन्चार्ज नरेन्द्र खड्काले काठमाडौंको टोखा नगरपालिका वडा ७ मा रहेको धापासीको सुकम्वासी बस्तीमा रहेको १८ घरमा चैत ९ गते डोजर चलाइएको बताए ।
त्यसअघि काठमाडौंको सिफलमा र भक्तपुरमा रहेको सुकुम्वासी बस्तीमा पनि डोजर चलाइएको उनको भनाई छ । उनले वर्तमान सरकारलाई निर्वाचन बाहेक अरु काम गर्ने कुनै अधिकार नभएको उल्लेख गर्दै सुकुम्वासी बस्तीमा डोजर चलाउने आवश्यकता किन पर्यो रु भन्दै प्रश्न गरे । उनले सुकम्वासी बस्तीमा डोजर चलाएको विषयमा सरकार बनाउन लागेको दल मौन बसकोमा पनि आपत्ती जनाए ।
उनले भने, ‘देशमा नयाँ सरकार बनेको छैन । यो सरकारको एउटा मात्रै म्याण्डेड थियो निर्वाचन गराउने । तर यो सरकारले बस्ती बस्तीमा दोजर किन चलाइरहेको छ ? सुकम्वासी बस्तीका डोजर लगाउनुपर्ने कारण के छ ? ९ गते त्यहाँ दोजर नलगाएको भए, ठूलो आँधी बेहरी केही आउने थियो ? नयाँ सरकार बन्नलाई टोखाको बस्तीले छेक्ने थियो?’
संघका नेता प्रकाश खरेलले सुकुम्वासीलाई अतिक्रमणकारी भनेर खेद्ने काम भइरहेको बताए । वर्षौंदेखि सरकारी, ऐलानी जग्गामा बसोवास गरिरहेकाहरुलाई राज्यले अव्यवस्थित बसोवासी भनेको उनको भनाई छ । उनीहरुलाई व्यवस्थापन गर्नुपर्नेमा अनाहकमा डोजर लगाइने काम भएको उनको गुनासो छ । उनले अव्यवस्थित बस्तीमा दोजर लगाउने काम तत्काल बन्द गर्न र भूमीहिनहरुले पाउनुपर्ने हकको सुनिश्चित गर्न माग गरे ।
उनले भने, ‘सुकुम्वासीलाई अतिक्रमणकारी भन्ने भाष्य सिर्जना गरिएको छ । वर्षौंदेखि सरकारी, ऐलानी जग्गामा बसोबास गरिरहेका र कानुनमा वन उल्लेख भएपनि त्यहाँ लामो समयदेखि बसोवास गर्नेहरुलाई राज्यले अव्यवस्थित बसोवासी भनेको छ । उनीहरुलाई व्यवस्थापन गर्नुपर्छ भन्दै गर्दा अव्यवस्थित बस्तीमा अनाहकमा डोजर लगाइने काम भएको छ, त्यसलाई तत्काल बन्द गरियोस् । भूमीहिनहरुले पाउनुपर्ने हकको सुनिश्चित गरियोस् ।’
धापासी सुकुम्वासी बस्तीका पीडित दलबहादुर खड्काले झुक्याएर बस्तीमा डोजर चलाइएको आरोप लगाए । उनले चैत ८ गते वडाध्यक्षले भाडामा लगाएको घर भत्काइने भनेर सूचना जारी गरेर चैत ९ गते आफूहरुको बस्तीमा पनि डोजर चलाइएको बताए । उनकाअनुसार बस्तीमुनी वडाध्यक्षले १५ वटा सटर बनाएर भाडामा लगाएका थिए । उनले धापासीमा २०६० सालदेखि बस्दै आएको र लालपूर्जाको लागि भूमी आयोगमा पत्र पनि पठाइसकेका जानकारी दिए ।
उनले भने, ‘हामी धापासीमा २०६० सालदेखि बस्दै आएका थियौँ । हामीले त्यहाँ केही टहरा हालेर बस्ती बनाएका थियौँ । हामीले भूमी आयोगमा पत्र पनि पठाइसकेका छोँ । हामी २२ वर्षदेखि बसिराख्दा चैत ८ गते वडाध्यक्षले भाडामा लगाएको घर भत्काइने भनेर सूचना आयो, हाम्रो बस्तीमुनी वडाध्यक्षले १५ वटा सटर बनाएर भाडामा लगाएको छ । सूचना आएपछि हामी नगरपालिका गयौँ, नगरपालिकाले चैत ९ गते छलफलको लागि बोलाएको थियो तर हामीलाई बैठक भनेर बोलाएर एक्कासी बस्तीमा डोजर लगाइयो ।’
संघले क्रान्तिकारी भूमिसुधार लागू गर्न, भूमीहीन नागरिकलाई आवास उपलब्ध गराउन, डोजर आतंक तत्काल बन्द गर्न, भूमी समस्या समाधानको लागि कानून संशोधन गर्न, लालपूर्जा वितरण कार्यलाई तिब्रता दिन माग गरेको छ ।












प्रतिक्रिया दिनुहोस्