Skip to content

संरचनागत इन्जिनियरिङका विद्यार्थी, राज्य प्रणालीमाथि प्रश्न गरिरहने युवा नेता बालेन शाह ४३औँ प्रधानमन्त्री, यस्तो छ जीवनी

nabil bank
काठमाडौं । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।
नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रूपमा राष्ट्रपति पौडेलले केही समयमा शाहलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् ।
नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए । उनले त्यस निर्वाचनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो मतान्तरले पराजित गरे।
नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुव्रदेवी शाहका सुपुत्र हुन। उनको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो ।
उनको परिवारमा एक दाजु र एक बहिनी रहेका छन्। उनकी श्रीमती सबिना काफ्ले जनस्वास्थ्य क्षेत्रमा कार्यरत छिन्, र उनलाई मोडेलको रूपमा पनि चिनिन्छ। बालेनको तीन वर्षकी एक छोरी छिन्।
उनको ससुराली मोरङ जिल्लाको उर्लाबारीमा रहेको छ। उनका ससुरा झमक काफ्ले र सासू आमा दुर्गा काफ्ले हुन्। बालेनको पुर्खौली थलो महोत्तरी जिल्लाको एकतारा गाउँपालिकामा पर्छ। उनका बुवाको घरमा हाल पनि नगरपालिकाको भवन रहेको छ।
बालेनको प्रारम्भिक शिक्षा काठमाडौंको नरदेवस्थित जलजला माध्यमिक विद्यालयबाट सुरु भएको थियो। त्यसपछि उनले माध्यमिक तथा उच्च माध्यमिक शिक्षा भिएस निकेतन, तीनकुनेबाट पूरा गरेका हुन्। स्नातक तहको अध्ययन उनले काठमाडौंको हिमालयन ह्वाइटहाउस कलेजबाट गरेका छन्।
‘र्याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाउनुभएका शाहले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उनले गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिए ।
विद्यालय जीवनमा बालेन औसत स्तरका विद्यार्थी थिए। एसएलसी दिँदासम्म उनले ८ वटा विद्यालय परिवर्तन गरेका थिए, जसको मुख्य कारण उनका बुवाको जागिरको सरुवा थियो। उनका बुवाको इच्छा उनलाई डाक्टर बनाउने थियो, तर बालेनले आफ्नै रुचिअनुसार इन्जिनियरिङ रोजेका थिए।
गणितमा आफू औसतभन्दा कमजोर भएको स्वीकार गर्दै उनले त्यसैलाई आफ्नो शक्ति बनाउने प्रयास गरेका थिए। उनले चार वर्षे इन्जिनियरिङ अध्ययन पाँच वर्षमा पूरा गरेका हुन्।
शाहले काठमाडौँको प्रमुख रहँदा पर्यटन र अर्थतन्त्र प्रवर्द्धनका लागि नेवा संरचनाको संरक्षणमा महत्त्वपूर्ण योगदान दिए । सहरी शासन र विकास कार्यक्रमको नेतृत्व, पूर्वाधार सुधार, सम्पदा संरक्षण र सेवा प्रवाहमा सुधारमासमेत उनको योगदान छ ।
महानगरपालिकाका अवैध संरचना हटाउन, फुटपाथ तथा सहरी व्यवस्थापन गर्न योगदान दिएका छन् । नेपालका विभिन्न क्षेत्रमा विशेषगरी भूकम्पपछिको पुनः निर्माण र सहरी व्यवस्थापनमा उनले उल्लेखनीय योगदान गरेका छन् । शाहले २०७२ सालको भूकम्पपछिको पुनः निर्माणमा सक्रिय सहभागिता जनाएका थिए ।
पुल, सडक र भवन डिजाइन तथा निर्माणमा अनुभव आर्जन गरेका शाहले सम्पदा संरक्षण तथा संरचनागत संरक्षण, पर्यटनमार्फत आर्थिक विकास र परम्परागत नेवा वास्तुकलामा विशेष जोड दिएका छन्।
दुई दर्जनभन्दा बढी र्याप कम्पोज गरेका शाहका सिर्जना भ्रष्टाचारको विरोध तथा सुशासनको अपेक्षा, युवा तथा सामाजिक मुद्दामा बढी केन्द्रित छन् । उनका गीतमा बेरोजगारी, असमानता, राजनीतिक विकृतिका साथै राज्य प्रणालीमाथि प्रश्न गरिएको हुन्छ ।
संविधानसभाको दोस्रो निर्वाचनपछि नै शाहले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत सार्वजनिक गर्दै देशप्रतिको आफ्नो चिन्ता व्यक्त गरेका थिए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा समर्थन जनाएका शाहमाथि आन्दोलनको कार्यादेश पूरा गर्नुपर्ने अभिभारा आइलागेको छ । नयाँ पुस्ताको बेचैनी र विद्रोहलाई सम्बोधन गर्दै परिवर्तनको चाहनालाई उनले पुरा गर्नुपर्ने छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi