काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएकी छन् । उनी वादी समुदायबाट मन्त्री बनेकी हुन ।
महिला सशक्तीकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त उनले वादी समुदायका महिलाको स्थिति झनै नाजुक रहेको बताइन् । संस्थामार्फत सिलाइकटाइ प्रशिक्षण दिएर महिलालाई आर्थिक स्वावलम्बी बनाउने काम गर्दै आएको उनको जानकारी दिए ।
कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी वादीले राजनीतिक यात्रामा रास्वपाबाट सुरु गरेकी हुन । ‘महिलाहरूको स्थिति नाजुक छ, त्यसमा पनि दलित र वादी समुदायको त झनै पीडादायी छ,’ उनले भनिन, ‘स्थिति सुधार गर्ने खालको परिणाममुखी काम गर्छु ।’
सीताका अनुसार राजनीतिको यात्रा सजिलो छैन । तर, यो अवसरलाई उनले भरपुर सकारात्मक कार्यमा लगानी गर्ने बताइन। समाजमा विद्यमान असमानता, विभेद र अपमानको जालो हटाएर समानतापूर्ण समाज निर्माण गर्नुपर्ने उनको धारणा छ । आधा आकाश ढाक्ने महिलाको परिस्थितिलाई अझै बलियो बनाउने र सीमान्तकृत समुदायका महिलाको विकासमा जोड दिने उनको योजना छ ।
वादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत, जहाँ गरिबी मात्रै होइन, नियति जस्तो बनाइयो, जहाँ अपमान सामान्य व्यवहारजस्तै स्वीकार गर्न बाध्य बनाइयो । यसअघि वादी समुदायबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उमादेवी वादी निर्वाचित भएकी थिइन । ‘वादी समुदायका खान र बस्नसमेत नपाएको अवस्था छ । वादी समुदायका छोरीहरूको अवस्था अन्धकारमय छ,’ उनले भनिन्। आफ्नो बाल्यकाल आर्थिक अभाव र सामाजिक अपहेलनले भरिएको बताउँदै उनले पढ्नका लागि कलम–कापी नपाउँदाको पीडा सम्झिन। उनले गरिबीकै कारण खान र बस्नसमेत चुनौती खेपेर बाल्यकाल हुर्किएको सुनाइन ।
यद्यपि वादीले जीवनमा भोगेका थुप्रै सङ्घर्षले आफ्नो जीवनलाई थप बलियो र परिपक्व बनाएको बताएकी छिन् । अभावका बीच पनि पढ्ने रहर उनले कहिल्यै मार्नुपरेको र एउटा संस्थाले उनलाई शिक्षामा सहयोग गर्यो । समाजसेवा (बिएसडब्लु) अध्ययन पूरा गरेकी वादीले शिक्षा नै चेतनाको मुख्य आधार रहेको बताए । पढ्न पाएपछि उनले जीवनलाई फरक ढङ्गले अगाडि बढाउन सक्ने भइन । ‘समाजमा आत्मसम्मानको लडाइँ निकै ठुलो हुँदोरहेछ,’ उनले भनिन, ‘जुन अहिलेसम्म लडिरहेछु ।’












प्रतिक्रिया दिनुहोस्