काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको स्वागत गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेर शुक्रबार सार्वजनिक भएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउँदै निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी तथा राजस्व वृद्धि गर्दै मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढाउन महत्वपूर्ण आधार तयार गरेको जनाएका छन् ।
उनले विशेषगरी सेवा प्रवाहलाई डिजिटल, सहज र समयबद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन, तथा उद्यमशीलता विकासजस्ता विषयहरू समेटिनु सकारात्मक रहेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
‘महासंघले उठाएका धेरै विषयहरू यस कार्यसूचीमा समावेश हुनु थप उत्साहजनक छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘हामी यस सुधार एजेण्डालाई स्वागत गर्दछौं। यसको प्रभावकारी कार्यान्वयनबाट आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र दिगो विकासमा ठोस योगदान पुग्ने विश्वास लिएका छौं ।’
यस ऐतिहासिक पहललाई सफल बनाउन सरकार र निजी क्षेत्रबीच अझ सशक्त सहकार्य अपरिहार्य रहेको र त्यसका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाए् ।












प्रतिक्रिया दिनुहोस्