काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘अनलाइन’ सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी ‘वेबसाइट’ बन्द गराएको छ ।
मन्त्रालयले बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरणले इन्टरनेट सेवाप्रदायकसँगको समन्वयमा हाल पहिचान भएका सबै सट्टेबाजी एप र वेबसाइट बन्द गरिएको हो ।
सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसँगको बैठकमा बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएलगत्तै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु गरेको थियो । मन्त्रीको निर्देशनलगत्तै मन्त्रालयले बेटिङ बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि इन्टरनेट सेवाप्रदायकसँगको समन्वयमा बेटिङ एप र वेबसाइट बन्द गरिएको हो ।
मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै सञ्चारमन्त्री डा तिमिल्सिनाले मन्त्रालय र सम्बद्ध निकायसँग छलफल गरी तत्कालै ‘एक्सन’ लिए ।
मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं ४२ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख छ । सोही बमोजिम मन्त्रालयले आजको मन्त्रिस्तरको निर्णयअनुसार प्राधिकरणलाई इन्टरनेटसेवा प्रदायकसँगको समन्वयमा कुनै पनि विद्युतीय माध्यमबाट हुने सट्टेबाजीलगायतका एप तथा वेबसाइट तत्काल बन्द गर्न निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम सबै सट्टेबाजी एप र साइट बन्द गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कानुनी व्यवस्थाका विपरीत हुनेगरी नेपालभर सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट सञ्चालन तथा प्रयोग नगर्न-नगराउन मन्त्रालयले अनुरोध गरेको छ । साथै, कसैले अनधिकृत रुपमा सट्टेबासी एप र वेबसाइट प्रयोग गरेमा वा सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम साधिकार निकायबाट कडा कारबाही हुने स्पष्ट पारेको छ ।
यस सम्बन्धमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) बमोजिम कसैले सट्टाबाजी गर्नु वा गराउनु हुँदैन भन्ने प्रावधान रहेको र सो उलङ्घन गरेमा सोही दफाको उपदफा (६) बमोजिम कसुरमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) मा समेत जुवा खेल्न खेलाउन वा प्रचलित कानुनबमोजिम अनुमति नलिएको चिट्ठा किन्न तथा किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था रहेको र सो विपरीत कसैले कसुर गरेमा कसुर गर्ने र गराउनेलाई त्यसबापत प्रचलित कानुनले कुनै सजाय हुने रहेछ भने सो बमोजिम सजाय गर्ने र सो नभएमा एक वर्षसम्म कैद र १० हजार जरिमाना हुने व्यवस्था रहेको छ । उल्लिखित कानुनी व्यवस्था विपरीत सट्टेबाजी एप र वेबसाइट सञ्चालन वा प्रयोग गरेको थाहा पाएमा प्राधिकरणको सम्पर्क व्यक्तिलाई फोन नं वा इमेलमामार्फत जानकारी गराई दिन अनुरोध गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्