काठमाडौं । नेपालका प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक समूहमध्ये एक गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
बुधबार आयोजित कार्यक्रममा बालबालिकाका लागि सहज उपचार तथा प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यअनुसार उक्त सहयोग हस्तान्तरण गरिएको हो। कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच सहयोगसम्बन्धी औपचारिक सम्झौता भएको छ।
सहयोग हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानमा सहभागी हुन पाएकोमा गर्व महसुस भएको बताए। “हाम्रो फाउन्डेसनद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वका कार्यअन्तर्गत आजदेखि किओचसँग सहकार्यको नयाँ अध्याय सुरु भएको छ। बालबालिकाका लागि गुणस्तरीय स्वास्थ्य सेवा अझ प्रभावकारी बन्ने विश्वास लिएको छु,” उनले भने।
किओचका संस्थापक अध्यक्ष प्रा.डा. कोइरालाले गोल्छा ग्रुपको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै भने, “यस सहयोगबाट हजारौँ बालबालिकालाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनेछ। सातै प्रदेशमा निर्माण भइरहेका बाल अस्पतालको गुरुयोजना अघि बढाउन पनि यो सहयोग महत्वपूर्ण हुने विश्वास लिएको छु।”
किओचले सातै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने लक्ष्यसहित हाल कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालनमा ल्याइसकेको छ। मुलुकभरका बालबालिकालाई र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले किओच स्थापना गरिएको हो।
नेपालको सबैभन्दा पुराना व्यावसायिक घरानामध्ये पर्ने गोल्छा ग्रुपले देशमा औद्योगिकीकरणको सुरुवात गर्दै पहिलो उद्योग स्थापना गरेको इतिहास बोकेको छ। हाल समूहले २० हजारभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरिरहेको छ।
सामाजिक उत्तरदायित्वका विविध कार्यक्रममा सक्रिय गोल्छा ग्रुपले टिच फर नेपाल, डिसेबल्ड न्युलाइफ केन्द्र, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, श्री सरस्वती माध्यमिक विद्यालय रामग्राम–१२ नवलपरासी, नेपाल एम्बुलेन्स सेवा लगायत संस्थाहरूसँग दशकौँदेखि सहकार्य गर्दै आएकोछ।













प्रतिक्रिया दिनुहोस्