काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सेयर बजारका विषयमा अर्थ मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल गरेका छन् ।
मन्त्री डा. वाग्लेले आज मन्त्रालयका अर्थ सचिव, सम्बन्धित महाशाखा प्रमुख, धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर बजारका बारेमा छलफल गरेका हुन् ।
नयाँ सरकार गठन भएलगत्तै आएको सम्पत्ति शुद्धिकरणको विषयले सेयर बजारमा निरन्तर गिरावट आएपछि मन्त्री डा. वाग्लेले बजारको सुधार तथा विकासका लागि के गर्न सकिन्छ भनेर आज सम्बन्धित निकायका अधिकारीहरुसँग छलफल गरेका हुन् ।
यो सरकार बने लगत्तै शासकीय सुधारका लागि भन्दै १०० बुँदे कार्यसूची जारी भयो । त्यसमा भएको ४५ नम्बर बुँदाका कारण बजार केही निरास भएको सेयर लगानीकर्ताहरुको तर्क छ ।
४५ नम्बर बुँदा मा ‘‘भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन नेपाल राष्ट्र बैंकले १०० दिनभित्र बैंक खाता, डिजिटल वालेट, सेयर लगानी तथा अन्य वित्तीय गतिविधिहरूलाई समेट्ने समन्वित डिजिटल सम्पत्ति लगत (इन्ट्रिग्रेटेड डिजिटल एसेट रजिस्ट्रि) स्थापना गर्ने, सोमा जोखिममा आधारित सङ्केत प्रणाली लागू गर्ने तथा सन्देहास्पद कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अघि बढाउने’’ भनेको छ । यसले बजारमा असर गरेको एक लगानीकर्ताले बताए ।
मंगलबार बाहेक बजारमा गिरावट आएपछि बुधबार सांसद हरी ढकाल लगायतले मन्त्री वाग्लेलाई भेटेका थिए । भेटमा बजार विकासका बारेमा छलफल भएको थियो । आजको भेटमा पनि मन्त्री वाग्लेले रास्वपाको बाचापत्रमा सेयर बजारमा विषयमा भएका विषय अक्षरस पालना गर्दै जाने जानकारी गराएको स्रोतको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्