काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली संघको एकता घोषणा कोशेढुङ्गा साबित हुने बताएकी छिन् ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैर आवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले गैर आवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाइन् । ‘विदेश बसेर काम गर्न नेपालीलाई दुःख पनि छ । मेहनतपछि सफलता पाइन्छ । विदेशमा बस्ने नेपालीलाई आफ्नो मुलुक र माटोको माया हुन्छ । तपाईँहरूले आफ्नो माटोका लागि के–कति गर्न सक्नुहुन्छ गर्नुहोस्’, प्रधानमन्त्री कार्कीले भनिनन्, ‘जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदालगायत धेरै क्षति भएको छ । शान्त तलाउमा ढुङ्गा हानिए जस्तो भएको छ । यसको मूल्याङ्कन गर्नुपर्ने भएको छ । मुलुकको हित र विकासका लागि तपाईँहरूको थप सहयोग र सुझावको अपेक्षा गरेका छौँ ।’
उनले निर्वाचनमा हार्नेले जित्नेलाई काम गर्न दिनुपर्ने र हार्नेले अर्कोपटक अवसर र जिम्मेवारी पाइएला भन्ने सोचेर राम्रो काम गर्न लाग्नुपर्ने र सङ्घको एकताबाट राजनीतिक दलहरूले पनि सिक्नुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस्