Skip to content

जीवन बीमाको अपरेशनल इफीसेन्सी र जोखिमको वर्तमान अवस्था: रोशनप्रसाद ज्ञवाली (विचार)

nabil bank

सामान्यतया, जीवन बीमा सञ्चालनमा दक्षता भन्नाले बीमकको क्षमता र विश्वसनीयतालाई जनाउँछ । यसले संस्थाको ग्राहक सन्तुष्टि, लागत नियन्त्रण, जोखिम व्यवस्थापन र नियामकीय परिपालन सन्तुलनमा राख्ने क्षमतालाई झल्काउँछ ।

प्रतिस्पर्धी बजारमा सञ्चालन दक्षता केवल प्रक्रियाको गति मात्र होइन, अनुशासित कार्यान्वयन, प्रविधिमैत्री र रणनीतिक समन्वयमार्फत मूल्य–मान्यतामा निरन्तर स्थापित हुने कार्य हो । जब सबै विभागले जोखिम सचेतना र समन्वयसहित एकीकृत रूपमा काम गर्छन्, तब बीमा क्षेत्रका सबै सरोकारवालाले पारदर्शिता र शुद्धता अनुभूत गर्न पाउँछन् । यस लेखमा सञ्चालन दक्षता प्राप्त गर्न बीमकको हालको सञ्चालन अवस्था, हुनुपर्ने वा भएका विभागको भूमिका, त्यसमा निहित जोखिम र ती जोखिमलाई नेपाली सन्दर्भमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे प्रस्ट पार्ने प्रयत्न गरिएको छ ।

प्रडक्ट पोर्टफोलियो

सन्तुलित प्रडक्ट पोर्टफोलियो जीवन बीमा व्यवसायको दीर्घकालीन स्थायित्वको मेरुदण्ड हो । अधिकांश बीमाका प्रडक्ट बचत र सुरक्षामध्ये केही प्रडक्टले बचतमा जोड दिन्छन् भने केहीले सुरक्षा प्रदान गर्छन् । त्यसैले टर्म इन्स्योरेन्स, होल लाइफ, एन्डोमेन्ट, मनी–ब्याक, पेन्सन र युनिट–लिक्ड योजनाबीच उचित सन्तुलन कायम गर्नु महत्वपूर्ण हुन्छ । यी प्रडक्टको राम्रोसँग विश्लेषण गरिएको संयोजनले बीमकलाई जोखिम विविधीकरण गर्न, स्थिर नगद प्रवाहलाई सुनिश्चित गर्न र कम्पनीको लगानी रणनीतिअनुसार दीर्घकालीन दायित्व सन्तुलनमा राख्न मद्दत गर्छ ।

बजार र आर्थिक परिस्थितिका आधारमा पोर्टफोलियो परिमार्जन गर्न नियमित ‘ऐक्चुरियल’ समीक्षा र नाफाको मूल्यांकन गर्ने कार्य उपयोगी हुन्छ । यदि पोर्टफोलियो असन्तुलित भयो भने यसले सम्पत्ति–दायित्व मिलानजस्ता समस्यामा उच्च जोखिम हुन सक्छ । त्यसैले निरन्तर अनुगमन, विविधीकरण र स्ट्रेस टेस्टिङ जीवन बीमकको स्थायित्वलाई कायम राख्न अपरिहार्य छ । कम्पनीसँग पृथक प्रडक्ट विकास विभाग हुनुपर्छ, जसले नवप्रवर्तनशील र ग्राहक केद्रित बीमा प्रडक्ट डिजाइन र विकास गर्छ । यो विभागले ऐक्चुरी र विज्ञसँग मिलेर मूल्य निर्धारण एवं लाभको सुनिश्चितता गर्छ । नियामकीय प्रावधान पालना गर्छ । प्रडक्ट डिजाइनमा नवप्रवर्तनले प्रतिस्पर्धात्मकता र ग्राहकप्रतिको सान्दर्भिकता अझै सुनिश्चित गर्छ ।

बजार, बिक्री र वितरण विभाग

बीमा कम्पनीका बजार, बिक्री र वितरण विभागले जीवन बीमा प्रडक्टलाई शाखा कार्यालय, एजेन्ट, प्रत्यक्ष बिक्री र डिजिटल प्लेटफर्मजस्ता विभिन्न माध्यममार्फत ग्राहकसम्म पु¥याएर व्यावसायिक वृद्धि सुनिश्चित गर्छ । यसले बजार विस्तारमा रणनीति विकास गर्छ । ग्रामीण र सहरी क्षेत्रमा पहुँच बढाउँछ । बिक्री प्रदर्शन अनुगमन गर्छ । पोलिसी बिक्री गर्नेलाई प्रेरित गर्न प्रचार–प्रसार तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्छ । गलत बिक्री, सीआरएममा आधारित निगरानी र प्रदर्शन मूल्यांकनमार्फत ग्राहकको विश्वास कायम राख्छ ।

अभिकर्ता कम्पनीका लागि प्रिमियमको प्रमुख स्रोत हो । कम्पनीको ध्यान अभिकता छनोट, इजाजतपत्र, तालिम र अभिकर्ताको उत्पादकत्वमा केन्द्रित हुन्छ । यसले नियामकीय अनुपालन र समयमै कमिसन भुक्तानीलाई सुनिश्चित गर्छ । साथै, गलत बिक्री रोक्ने, कागजात नक्कली बनाउने र गलत तथ्यांक राख्नेजस्ता त्रुटिलाई सच्याउँछ । पारदर्शिता, निरन्तर तालिम र डिजिटल अनुगमन प्रणालीले कम्पनीको प्रतिष्ठा र उत्पादकत्वलाई बढावा दिइरहेको हुन्छ ।

अन्डरराइटिङ विभाग

अन्डरराइटिङ बीमा कम्पनीको महत्वपूर्ण विभाग हो । अन्डरराइटिङ विभागले बीमा आवेदनको मूल्यांकन गर्दै आवेदकको पेसा, स्वास्थ्य स्थिति, वित्तीय स्थितिको विश्लेषण गर्छ, जसले जोखिम प्रोफाइल निर्धारण गर्छ । अन्डरराइटिङमा नैतिक जोखिम र प्रतिकूल चयनले यसको नाफामा नकारात्मक असर पार्न सक्छ ।

लेखा, वित्त र लगानी विभाग

लेखा, वित्त र लगानी विभाग कम्पनीको वित्तीय विवरणलाई सही र पारदर्शी राख्ने प्रमुख अंग हो । यसले लेखा, बजेट, आम्दानी, खर्च र लगानीसम्बन्धी सम्पूर्ण काम गर्छ । यसले सबै नियामकीय आवश्यकता पूरा भए-नभएको हेर्छ ।

यसले एनएफआरएस–१७ अन्तर्गत सही वित्तीय प्रतिवेदन, जोखिममा आधारित पुँजीका आवश्यकता पूरा गर्न र लिक्विडिटी तथा नाफा विश्लेषणमार्फत रणनीतिक निर्णय निर्माण गर्न सहयोग गर्छ । यसले तरलता संकट, वित्तीय धोखाधडी एवं नियामक जोखिमजस्ता चुनौतीबारे जानकारी राख्ने र सोहीअनुसार रणनीति बनाउने काम गर्छ । यी चुनौतीलाई आन्तरिक नियन्त्रण, जिम्मेवारीको स्पष्ट विभाजन, नियमित मिलान र समयमै अडिटमार्फत व्यवस्थापन गरिन्छ ।

नेपालको बीमा बजारको सूचक नै कुन कम्पनीको बढी प्रिमियम कलेक्सन भएको छ वा लाइफ फन्ड कत्रो छ भन्नेमा केन्द्रित छ । यस्तो अवस्थामा अन्डरर ाइटिङ विभाग जो खिम मूल्यांकनभन्दा बढी प्रिमियम संकलनमा ध्यान के न्द्रित हुनुपर्ने बाध्यतामा छन् । प्रिमियम संकलन भनेको बीमा कम्पनीले दायित्व लिएको हो 

जीवन बीमकको अर्को प्रमुख कार्य लगानी हो, जसमा नीतिगत सम्झौता, प्रकृति र आवश्यकताअनुसार कोषमा भएको रकमअनुरूप लगानी गर्नुपर्छ ।

 

पुनर्बिमा

पुनर्बीमाले कम्पनीलाई ठूलो दाबी वा विनाशकारी क्षतिबाट जोगाउन जोखिम बाँड्ने काम प्रदान गर्छ । यस विभागले ट्रीटी सम्झौता, व्यक्तिगत प्रस्ताव र दाबी तथा दाबीपछिको प्राप्ति व्यवस्थापन गर्न सहयोग गर्छ । मुख्य जोखिममा पुनर्बिमाकर्ताले दाबी गर्छ । यसले जोखिम स्थानान्तरण गर्छ । विश्वसनीय पुनर्बिमाकर्तासँग सहकार्य, पारदर्शी अभिलेख राख्ने र नियमित सहकार्य गराउने, कम्पनीको स्थायित्व एवं वित्तीय सुरक्षा सुनिश्चित गर्ने काम गर्छ । साथै, पुनर्बिमाले प्राविधिक सहयोग लिन र पुँजी व्यवस्थापनमा दक्षता बढाउन सहयोग गर्छ ।

सूचना प्रविधि

सूचना प्रविधि विभागले बीमाकर्ता÷कम्पनीको डिजिटल यात्रा सञ्चालन गर्छ । यसले कोर इन्स्योरेन्स सिस्टम, अनलाइन भुक्तानी प्लेटफर्म र ग्राहक पोर्टल सुरक्षित एवं सुचारु रूपमा सञ्चालन गर्छ । यसले साइबर आक्रमण, प्रणाली विफलता र डेटा चुहावटजस्ता चुनौतीलाई मजबुत इन्क्रिप्सन, नियमित ब्याकअप र विपद् पुनप्र्राप्तिमा ध्यान दिएको हुन्छ । विश्वसनीय सूचना प्रविधि प्रणालीले कम्पनीलाई छिटो, सही र ग्राहकमैत्री बनाउँछ ।

मानव संसाधन र प्रशासन

मानव संसाधन र प्रशासन विभागले कर्मचारी भर्ना, मूल्यांकन, कल्याण र प्रशासनिक कार्य गरिरहेको हुन्छ । यसको उद्देश्य कर्मचारीलाई प्रेरित र सन्तुष्ट राख्ने हो । ताकि उनीहरूले उत्कृष्ट काम गर्न सकून् । कर्मचारी पलायन, कार्यस्थल गुनासो वा खरिदसम्बन्धी समस्या निष्पक्ष रूपमा यो विभागले काम गरेको हुन्छ ।

दाबी विभाग

दाबी विभाग बीमाकर्ताको वाचा पूरा गर्ने केन्द्र हो । परिपक्वता वा मृत्यु दाबीको समय निष्पक्ष र छिटो भुक्तानी गर्नुपर्छ । यसले सबै आवश्यक कागजात सावधानीपूर्वक समीक्षा गर्छ र समयसीमाभित्र दाबी पूरा गर्छ । आजभोलि नक्कली दाबी वा ढिलाइ रोक्न स्मार्ट उपकरण (जस्तै, धोखाधडी पहिचानका लागि एआई प्रयोग गर्न सकिन्छ, जसले पारदर्शिता र ग्राहक विश्वास कायम राख्छ ।

जोखिम व्यवस्थापन, ऐक्चुरियल र अनुसन्धान

यस विभागले कम्पनीलाई वित्तीय रूपमा बलियो र नाफामुखी राख्न महत्वपूर्ण भूमिका खेल्छ । यसले मृत्युदर विश्लेषण, मूल्य निर्धारण, रिजर्भिङ र सिनारियो परीक्षण गर्छ । साथै, डिजिटल अन्डरराइटिङ वा सूक्ष्म बीमाजस्ता नयाँ क्षेत्रको अनुसन्धान गर्छ । बजार उतारचढावबाट उत्पन्न जोखिमलाई स्ट्रेस टेस्टिङ, मोडल प्रमाणीकरण र विविध लगानी रणनीतिबाट व्यवस्थापन गरिन्छ । डेटा र विश्लेषणात्मक ज्ञानमा आधारित निर्णयले कम्पनीको दीर्घकालीन स्थायित्व पूरा गर्छ ।

आन्तरिक नियन्त्रण विभाग

आन्तरिक नियन्त्रण टोलीले कम्पनीका प्रक्रियागत काम र सञ्चालनलाई नियमित रूपमा समीक्षा गर्दै  नियम परिपालना सु निश्चित गर्छ । कुनै समस्या भेटिँदा तुरुन्त सुधारात्मक कदम चाल्न सहज हुन्छ । बलियो आन्तरिक नियन्त्रणले धोखाधडी र वित्तीय क्षति रोक्छ तथा नियमित अडिटले कम्पनीको विश्वसनीयता बलियो बनाइराख्छ

कानुनी र परिपालन विभाग

कानुनी र परिपालन टोलीले कम्पनीलाई निष्पक्ष र कानुनी सीमाभित्र सञ्चालन गर्न मद्दत गर्छ । यसले सम्झौता समीक्षा, अडिट अनुगमन र नियामकीय प्रतिवेदन तयार गर्छ । नियम पालना गरेर कम्पनीले जरिवाना वा कानुनी जोखिमबाट जोगाउँछ । यसले ग्राहक तथा सरोकारवालाको विश्वास कायम गर्न सहयोग पुग्छ ।

ग्राहक सेवा विभाग

ग्राहक सेवा टोलीले प्रत्येक बीमा पोलिसीको जीवनचक्रभरि दक्ष र त्रुटिरहित व्यवस्थापनमा ध्यान दिन्छ । यसले बीमालेख संशोधन, ऋण, सरेन्डर, पुनर्जागरण, प्रिमियम समायोजन र ग्राहकसँगको सम्पर्कलाई ध्यान दिन्छ । सानो गल्तीले पनि ठूलो जोखिम ल्याउन सक्छ । यसतर्फ ध्यान दिने गर्दछ । स्वचालन, रियल–टाइम डेटा जाँच र मेकर–चेकर प्रक्रियाले शुद्धता कायम राख्छ । नियमित अडिट र गुणस्तरीय समीक्षाले कम्पनीको विश्वसनीयता बढाउन सहयोग पुग्छ ।

ब्रान्डिङ र सञ्चार

ब्रान्डिङ र सञ्चार विभागले कम्पनीको सार्वजनिक छवि निर्माण एवं संरक्षणमा ध्यान दिने गर्छ । स्पष्ट र पारदर्शी सञ्चारमार्फत ग्राहक विश्वास र ब्रान्डको सकारात्मक छवि निर्माण गर्छ । सबै सन्देश (विज्ञापन) मापदण्डअनुसार तयार र समीक्षा गरिन्छ । संकट सञ्चार योजनाले चुनौतीपूर्ण अवस्थामा समेत कम्पनीको विश्वसनीयता कायम राख्न सहयोग गर्छ ।

एजेन्सी रिक्रुटमेन्ट र तालिम

तालिम विभागले कर्मचारी र एजेन्टलाई व्यावसायिक बनाउने काम गर्छ । यसले सिकाइको आवश्यकता पहिचान गरेर तालिम कार्यक्रम सञ्चालन गर्छ । अपर्याप्त तालिमले परिपालन असफलता र अक्षमता ल्याउन सक्छ । यसलाई रोक्न पनि बीमा क्षेत्रमा तालिमको योगदान निकै हुन्छ । बीमा क्षेत्र अन्य क्षेत्रभन्दा निकै फरक पनि छ । कम्पनीले कर्मचारीलाई समयसापेक्ष बनाउन सके त्यसको लाभ कम्पनीले मात्रै नभएर बीमित, एजेन्टलगायत सबैलाई पर्छ । माथि उल्लिखित विभाग प्रायः कम्पनीमा रहँदै आएका छन् । नयाँ कुरा भनेको बदलिँदो परिस्थितिलाई सम्बोधन गर्ने हिसाबमा सबैको सहकार्य भएको छ कि छैन भन्ने मात्र हो ।

जोखिम अवस्था

कम्पनी सञ्चालन हुँदा जोखिम अवस्थाबारे पनि यहाँ केही चर्चा गर्नु सान्दर्भिक नै हुनेछ । जोखिम भनेको अपेक्षित परिणामभन्दा फरक नतिजा आउन सक्ने अवस्था हो । यसको अर्थ जुन उद्देश्यका साथ बीमा कम्पनीको सुरुआत भएको थियो, त्यसअनुसार सबै मापदण्डमा कम्पनी खरो रूपमा उत्रेको छ कि छैन भन्ने हो । त्यस्तो विचलन हुने जुनसुकै कार्यले बीमा सञ्चालनलाई अक्षम बनाउँछ ।

नेपाली बजार बोनसमुखी प्रडक्टतर्फ बढी ढल्केको छ । सोही कारण एजेन्टहरू प्रडक्टको विशेषता वा ग्राहक आवश्यकताबिनै पोलिसी बिक्री गर्छन् । यस्तो अभ्यासले बीमक र बीमित दुवैलाई जोखिममा पार्दछ । अस्थिर ब्याजदर रहेको नेपालजस्तो देशमा उच्च बोनस दर दीर्घकालीन रूपमा कायम रहन नसक्ने सम्भावना रहन्छ ।

यसले गर्दा बीमितले पाउने बोनस एकनास हुँदैन । कहिले कम, कहिले बढी हुन्छ । सोही कारण पोलिसी रद्द हुने र कम्पनीले प्रोत्साहन तथा कमिसनमा लगानी गरेको रकम गुमाउने जोखिम बढ्छ । साथै, यसले कम्पनीको प्रतिष्ठामा पनि नकारात्मक प्रभाव पार्दछ । एउटै वा समान प्रकारका प्रडक्टमा अत्यधिक जोड दिनुले ‘कन्सन्ट्रेसन रिस्क’ बढाउँछ । यस समस्यालाई समाधान गर्न कम्पनीले विभिन्न बीमा प्रडक्टबारे सचेतना फैलाउनुका साथै वित्तीय साक्षरता अभिवृद्धि गर्नुपर्छ । यसले ग्राहकलाई परम्परागत बीमा प्रडक्टबाट अन्य विविध बीमाका प्रडक्टतर्फ क्रमशः आकर्षित गर्न मद्दत पु¥याउँछ ।

प्रडक्ट

मूल्य निर्धारणमा पर्याप्त ध्यान नदिँदा कम मूल्यांकन, त्रुटि र अपर्याप्त प्रिमियमका कारण कम्पनीको नाफा घट्न जान्छ । बीमा कम्पनीमा अधिक एजेन्ट हुने र बढी प्रिमियम भएका पोलिसी डिजाइन गर्दा कहिलेकाहीँ कम्पनीका लागि अत्यधिक खर्च निम्त्याउँछ । नेपालमा कमिसन फिर्ता प्रावधान बिरलै प्रयोग गरिने भएकाले पोलिसी प्रारम्भिक रूपमा रद्द हुँदा बीमकले ठूलो वित्तीय घाटा बेहोर्नुपर्छ । यता, एजेन्टले अग्रिम कमिसन लिइसकेका हुन्छन् । नोक्सान भएको खण्डमा त्यसको असर बीमा कम्पनीलाई पर्छ ।

कुनै पनि कम्पनीलाई तुरुन्त दक्ष बनाउन सकिँदैन । दक्षता प्राप्त गर्न सही अभ्यास र उत्कृष्ट नीति अपनाउनुपर्छ । सुशासन कायम गर्नु, जोखिम सहनशीलता र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनु नै दक्ष जीवन बीमा सञ्चालनको आधार हो 

नेपालको बीमा बजारको सूचक नै कुन कम्पनीको बढी प्रिमियम कलेक्सन भएको छ वा लाइफ फन्ड कत्रो छ भन्नेमा केन्द्रित छ । यस्तो अवस्थामा अन्डरराइटिङ विभाग जोखिम मूल्यांकनभन्दा बढी प्रिमियम संकलनमा ध्यान केन्द्रित हुनुपर्ने बाध्यतामा छन् । प्रिमियम संकलन भनेको बीमा कम्पनीले दायित्व लिएको हो । त्यो पछि कुनै रूपमा फिर्ता गर्नैपर्ने हुन्छ । पोलिसी सामान्य र असामान्य अवस्थालाई नहेरी जारी गरिन्छन् । ग्राहकको वित्तीय क्षमता र बीमा आवश्यकता मूल्यांकन गर्ने ‘फाइनान्सियल अन्डरराइटिङ’ व्यावसायिक दबाबका कारण प्रायः बेवास्ता गरिन्छ । यसले सम्पत्ति शुद्धीकरणविरुद्धको प्रतिष्ठामा क्षति र दीर्घकालमा राष्ट्रिय स्तरका जोखिमसमेत निम्त्याउन सक्छ ।

शाखा सञ्चालनका क्रममा कहिलेकाहीँ कर्मचारीको व्यक्तिगत संलग्नता, अधिकारको दुरुपयोग वा स्वार्थका कारण वित्तीय हेरफेरजस्ता अनियमितता देखिएका छन्, जसले बीमकलाई सञ्चालन तथा प्रतिष्ठागत जोखिममा पार्दछ । प्रिमियम संकलन वा अन्य वित्तीय कारोबारमा रिकन्सिलेसनमा ढिलाइ हुनु वा कमजोरी देखिनु पनि कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको संकेत हो ।

कम्पनीको दृष्टिकोण, अवधारणा वा प्रडक्टको प्रकृतिसँग मेल नखाने व्यक्तिगत स्वार्थमा गरिएको लगानी, खरिद प्रक्रिया वा जोखिमयुक्त लगानीले सम्पत्ति तथा दायित्वमा असन्तुलन ल्याउँछ । यसको परिणामस्वरूप बोनस घट्ने र अन्ततः कम्पनीको प्रतिष्ठामा आघात पुग्ने सम्भावना रहन्छ । त्यसैगरी अनुचित पुनर्बीमा नीति वा एउटै पुनर्बिमाकर्तामा अत्यधिक जोखिम केन्द्रित हुनुले कम्पनीको प्रतिष्ठालगायत समग्र वित्तीय स्थायित्वमा खतरा ल्याउँछ ।

पुरानो ‘कोर इन्स्योरेन्स सिस्टम’ वा विगतका पुरातन सफ्टवेयर कम गतिशील र कम नवप्रवर्तनशील छन् । आजको डिजिटल युगमा यस्ता प्रणालीले प्रतिस्पर्धी कम्पनीको तुलनामा कम्पनीलाई पछि पार्दछ । प्रतिस्पर्धीले नयाँ र स्वचालित प्लेटफर्म अपनाउँदा पुराना सफ्टवेयरमा निर्भर कम्पनी स्वाभाविक रूपमै पछि पर्छन् ।

यसले सञ्चालनमा अक्षमता, समय बढी लाग्ने र सञ्चालन जोखिम बढ्ने सम्भावना ल्याउँछ । त्यसैगरी पर्याप्त तालिम नपाएका कर्मचारी र तीव्र रूपमा परिवर्तन भइरहेका नियामकीय व्यवस्था तथा आर्थिक परिवेशमा पुरानो सोचको काम गराइले कम्पनीलाई ठूलो चुनौती दिन्छ ।

बीमकले उद्योगका मापदण्डसँग प्रतिस्पर्धा गर्न नयाँ प्रविधि र ग्राहक अपेक्षासँग मेल राख्नैपर्ने हुन्छ, जुन आफैँमा ठूलो चुनौती हो । दाबी प्रक्रियामा ढिलाइ, गलत वा ठगीका दाबी दर्ता हुनुजस्ता गतिविधिले जनविश्वासमा नकारात्मक असर पार्छ र सञ्चालन तथा प्रतिष्ठागत जोखिम बढाउँछ । विपरीत रूपमा स्पष्ट र नियमित संवादसहितको बलियो ग्राहक सहयोग प्रणालीले दीर्घकालीन विश्वास निर्माण गर्छ र पोलिसी नवीकरणमा सहजीकरण गर्दछ, जसले कम्पनी र बीमित दुवैलाई फाइदा पु¥याउँछ ।

एजेन्टलाई उचित तालिम दिनु बीमा कम्पनीको मुख्य काम हो । यसले कम्पनीलाई नै लाभ दिन्छ । जब एजेन्टलाई बिक्रीका लागि नभएर ग्राहक आवश्यकता बुझ्न तालिम दिइन्छ, तब उनीहरू बिक्रेताभन्दा पनि वित्तीय सल्लाहकारको भूमिकामा बढी रुपान्तरित हुन्छन् ।

यसले उनीहरूलाई ग्राहक आवश्यकताअनु सार बीमा पोलिसी बेच्न प्रेरित गर्छ । उनीहरूले बीमितले पाउने लाभ स्पष्ट रूपमा व्याख्या गर्न र यथार्थपरक जानकारी दिन सक्षम हुन्छन् । यसले गर्दा बीमित सन्तुष्ट हुन्छन् र पोलिसी बीचैमा रद्द गर्ने सम्भावना घट्छ । दीर्घकालमा यसले कम्पनी र बीमितबीच बलियो र निष्ठावान सम्बन्ध निर्माण गर्छ ।

बलियो ब्रान्ड इमेज बनाउनु बीमा कम्पनीका लागि अत्यन्त महत्वपूर्ण काम हो । जब कम्पनी दक्ष, पारदर्शी र सुशासित भनेर चिनिन्छ, तब यसले ग्राहक, कर्मचारी, नियामक निकाय र लगानीकर्ताको विश्वास सहजै जित्छ । कुनै पनि कम्पनीका लागि प्रतिष्ठा सबैभन्दा ठूलो शक्ति हो । सम्पत्ति हो, जसले व्यवसाय विस्तार र सार्वजनिक विश्वास कायम राख्नसमेत ठूलो मद्दत पु¥याउँछ ।

कम्पनीमा देखिने सफलताका पछाडि यसका आन्तरिक नियन्त्रण प्रणाली, अनुपालन, कानुनी, जोखिम व्यवस्थापन तथा लेखा परीक्षण विभागको सहकार्यको ठूलो भूमिका हुन्छ ।

काम गर्दा स्वतन्त्र र निष्पक्ष भयो भने जुनसुकै समस्या पनि प्रारम्भमै पत्ता लगाउन सहज हुन्छ । यसले समस्या समाधान गर्न र ठूला जोखिम रोक्न सकिन्छ । नियामक निकायले प्रश्न सोध्ने ठाउँ नै भएन भने काम गर्न सहज हुन्छ । अनावश्यक अवरोध सिर्जना हुँदैन । यसले सबै सरोकारवालाको हित सुरक्षित हुन्छ ।

जब मार्केटिङ, अन्डरराइटिङ, वित्त र जोखिम व्यवस्थापनलगायत सबै विभागले सन्तुलित र समन्वित रूपमा कार्य गर्छन्, तब रिस्कबेस क्यापिटल फ्रेमवर्कअन्तर्गत आवश्यक पुँजीको मात्रा घट्छ । यसको सिद्धान्त सरल छ– कम्पनी सञ्चालन प्रणाली जति सुदृढ र नियन्त्रणमा हुन्छ, सम्भावित जोखिमका लागि राख्नुपर्ने अतिरिक्त पुँजी त्यति कम हुन्छ । यस प्रणालीअन्तर्गत बीमकले विभिन्न प्रकारका जोखिम–मुख्यतः बजार जोखिम, प्रतिपक्ष जोखिम र जीवन बीमा जोखिम–कभर गर्न पुँजी छुट्याउनुपर्छ ।

पुनर्बिमा व्यवस्थासहितका बाह्य सम्बन्धमा प्रतिपक्ष डिफल्ट जोखिम पनि कभर गर्न थप पुँजी आवश्यक हुन्छ, ताकि बीमक सुरक्षित रहोस् । जीवन बीमा जोखिममा मृत्युदर वृद्धि, पोलिसी रद्द, खर्च वृद्धि, सञ्चालन कमजोरीजस्ता कारक पर्छन् । जसले भविष्यका दायित्वमा अनिश्चितता थप्दै जान्छ । पुँजीको आवश्यकतालाई बढाउँछ ।

बीमामा सञ्चालन क्षमता भनेको बीमा आदर्श अवस्थाको कल्पना गरेर त्यसलाई निरन्तर अभ्यासद्वारा हासिल गर्नु हो । कुनै पनि कम्पनीलाई तुरुन्त दक्ष बनाउन सकिँदैन । दक्षता प्राप्त गर्न सही अभ्यास अपनाउनुपर्छ । उत्कृष्ट नीति र अभ्यास स्थापना गर्नु, कडा सुशासन कायम गर्नु, जोखिम सहनशीलता र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनु नै दक्ष जीवन बीमा सञ्चालनको आधार हो ।

(बीमा बिषयका फेलो रोशन प्रसाद ज्ञवाली, चिफ रिक्स अफिसरका रुपमा सन नेपाल लाईफमा कार्यरत छन्)

(नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अर्थनीतिबाट)

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime