Skip to content

भारतसँग जोडिएको पर्साका सीमानाका ३ दिन बन्द हुने

वीरगञ्ज । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित दुई देशबीचको सीमानाका बन्द हुने बताए।

‘दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्ने सहमति भएको छ’, उनले भने, ‘भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुन गरिरहेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार बसेको बिडिसिसी बैठकको निर्णयअनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको छ ।’

पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । दुवै मुलुकको बिडिसिसी बैठकको निर्णय र समाहरणालय, पश्चिम चम्पारण, बेतिया (विहार) को पत्राङ्कको पत्रबाट समेत अनुरोध भएर आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नेपालमा निर्वाचन हुँदा पनि भारतको सीमानाका बन्द गर्ने परम्परा रहँदै आइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T